काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कामलाई देखाएर अरुले प्रसंशा बटुलेको टिप्पणी गरेकी छन् । आइतबार ओलीको प्रसंशा गर्दै सामाजिक सञ्जालमा लेख्दै ओलीले बनाएको सुन्दरतामा केहि बुट्टा भर्ने एउटा मेयर हाईहाई अनि ओली तिरस्कृत किमार्थ सम्भव नभएको जिकिर गरेकी छन् ।
‘रानीपोखरी सुन्दर तिमीले बनायौ । तिमीले बनाएको सुन्दरतामा केहि बुट्टा भर्ने एउटा मेयर हाई हाइ अनि तिमी तिरस्कृत किमार्थ सम्भव छैन । त्यसैले अब बोल्छौं । अराजकताका विरुद्ध धावा बोल्छौं । काठमाडौंको सडक सुन्दर (कलंकी कोटेश्वर) आहा,भन्ने तिमीले बनायौ, ढलेको धरहरा तिमीले ठड्यायौ अनि परिचालित तत्वहरुले अरबौं खर्च गरेर सामाजिक सञ्जालको प्रयोग गरेर तिमी माथि आक्रमण गर्दा हामी चुपचाप कसरी बस्न सक्छौं ? सक्दैनौं बोल्छौं’ उनले लेखेकी छन् ।
पूर्व सांसद समेत रहेकी चौधरीले भूकम्पले ढलेका ७ लाख घरमा ओलीको मुहार झल्कने जिकिर गरेकी छन् । उनले विकास निर्माणका सबालमा केपी ओलीका सपना र योगदान एक एक गरेर लेख्ने बताएकी छन् । ‘विकास निर्माणका सबालमा केपी ओलीका सपना र योगदान एक एक गरेर लेख्छौं, बोल्छौं। भुकम्पले ढालेका ७ लाख घरमा तिम्रो मुहार छ । भारतबाट नेपालसम्म ग्यास पाइपबाट पेट्रोल ल्याउने कार्यको सुरुवात तिमीले गर्यौ । तिमीलाइ सिध्याउन षड्यन्त्र गर्नेहरुले गरुन तर इतिहास तिमीले लेख्यौ , सपना तिमिले देख्यौ’ उनले भनेकी छन् ।
चौधरीले ओलीलाई आगामीपुस्ताले सदैव स्मरण गरिरहेको बताएकी छन् । उनले भनेकी छन् ‘तिमीले यो देशलाई लगाएको गुन हजारौं वर्ष पढ्नेछन नेपालीले । नाकाबन्दी पढ्दा तिमीलाइ पढ्नेछन । चुच्चे नक्शा सँगै तिमीलाइ पढ्नेछन । कोरोनाले संसारलाइ आतंकीत बनाउँदा पनि देशको आर्थिक वृद्धिदर ७।२ बनाउने प्रधानमन्त्रीको रुपमा तिमीलाइ पढ्छन । आजको विआरआइ सम्झौताले भोलि देशलाइ लाभ दिंदा तिमीलाइ पढ्नेछन’ ।
चौधरीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोहोरो चरित्र देखाएको आरोप लगाएकी छन् । विदेशीसँग लम्पसार परेर देशका प्रधानमन्त्रीलाई धावा बोलेको भन्दै आक्रोश व्यक्त गर्दै उनले लेखेकी छन् ‘सत्ता नपाएको झोकमा बर्बराउने प्रचण्डलाइ फेरी भन्न चाहन्छु । विदेशीसँग लम्पसार परेर देशका प्रधानमन्त्रीलाइ धावा बोल्ने तपाईं कसरी क्रान्तिकारी ? कम्फर्टेवल देखि चिनिया कार्डसम्मको शब्दभित्र भएका राष्ट्रघात र लम्पसारवादको चर्चा फेरि गरौंला । अहिलेलाइ यत्तिनै’ ।