Logo

प्रधानमन्त्री ओलीले सुनाए देउवासँग मिल्नुको कारण, निशानामा नयाँ दल



काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनलाई नै धरापमा पार्ने तत्वहरु उम्रिन थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाइएको बताएका छन् । आज (आइतबार) ज्यापू समाजद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नयाँ दललक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले देशमा राजनीतिक परिवर्तन ल्याएका छौं । त्यो परिवर्तनलाई नै धरापमा पार्नेगरी अनेकखालका तत्वहरु उम्रिन थाले । त्यसकारण पुराना पार्टीहरु, योगदान गरेका पार्टीहरु, नीति भएका पार्टीहरु, देश बनाउने उद्देश्य बोकेका पार्टीहरु मिलेर अहिले सरकार बनाइएको छ ।’

आफू नेतृत्वको वर्तमान सरकार बनाउन लागि नबनाइएको उनको भनाइ छ । उनले देशको समस्या समाधान गर्नका लागि, राजनीतिक अस्थिरता, अन्यौल समाप्त पार्न र देशलाई विकृतिबाट सुकृतितर्फ अगाडि बढाउन अहिलेको सरकार बनेको दाबी गरे । आफूहरु त्यसतर्फ लागिरहेको पनि उनले सुनाए ।

साथै, प्रधानमन्त्री ओलीले फरक प्रसंगमा भ्रष्टाचारजन्य मुद्दामा हदम्याद नराखेर गलत भएको बताए । भ्रष्टाचारका मुद्दामा हदम्याद राख्नुपर्ने आफूहरुको अडान भएपनि केही मानिसहरुले हल्लैहल्लामा त्यसको विरोध गरेको र बिगारेरै कानुन पास गर्न बाध्य बनाइएको बताए । अहिले भ्रष्टाचारको उजुरी परेको १५/२० वर्षमा पनि छानविन नभएको, कारबाही नभएको अवस्थामा आफूहरुले पाँच वर्षभित्र निर्क्यौल हुनुपर्ने भनेर अगाडि बढ्दा हल्लैहल्लामा लहैलहैमा कानुन पारित गर्न नदिइएको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्