Logo

एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो, एक्लिदै माधव नेपाल



काठमाडौं, ३० मंसिर । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताबारे छलफल भइरहेको बताउँदै आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि शीर्ष नेताहरुले एकीकृत समाजवादीसँग एकताको पहल भइरहेको बताउँदै आएका छन् । एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहमै प्रचण्डले पार्टी एकताबारे बोलेका थिए । प्रमुख अतिथि रहेका तत्कालीन प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमै पार्टी एकताको सकेत गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि पार्टी एकताका लागि भइरहेको पहल र प्रयासलाई सार्वजनिक रुपमा स्वीकार गर्दै आएका छन् । यस अर्थमा माओवादीसँग एकताको पक्षमा अध्यक्ष नेपाल छन् । गत २०७९ को संसदीय निर्वाचनमा एकीकृत समाजवादी राष्ट्रिय दलसमेत बन्न नसक्दा नेता तथा कार्यकर्तामा निराशा र अन्यौलता छाएको छ । एकीकृत समाजवादीले उक्त निराशा र अन्यौलता अझैसम्म पनि चिर्न सकेको छैन । फलस्वरुप केही प्रभावशाली नेताहरु पुरानै घर अर्थात एमालेमै फर्किने क्रम जारी छ । यी घटनाक्रमबाट निराश भएको अध्यक्ष नेपाल पार्टी एकताको पक्षमा नै छ ।

तर, पूर्व प्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालदेखि उपाध्यक्ष जगन्नाथ खतिवडा पार्टी एकताको विपक्षमा छन् । सम्मानित नेता खनालले स्थायी कमिटी बैठका आफ्नो प्रतिवेदन पेश गर्दै पार्टी एकतालाई हल्काफुल्का ढङ्गले हेर्न नहुने बताएका छन् । उनले भनेका छन्, ‘पार्टी एकीकरण एउटा गहन प्रकृया हो । त्यसलाई हल्काफुल्का ढङ्गले हेर्नु हुँदैन । सम्बन्धित समूहहरू बीच वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक कार्यदिशामा एकरुपता बिना पार्टी एकीकरण सम्भव हुँदैन’ खनालले भनेका छन् ‘तर साझा सवालमा कार्यगत एकता जहिले पनि गर्न सकिन्छ । आजको आवश्यकता सबै वामपन्थीहरूबीच साझा सवालमा कार्यगत एकता गर्नु नै हो । त्यो एकताबाट नै पार्टी एकीकरणको उचाइ तिर क्रमिक रुपले अघि बढ्न सकिन्छ ।’

त्यस्तै, उपाध्यक्ष खतिवडाको मत पनि एकताको विपक्षमा छ । एकीकृत समाजवादीलाई नै बलियो बनाउनुपर्ने र कुनै पार्टी आफूहरुसँग एकताको लागि आउँछ भने आफ्नो पार्टीलाई केन्द्रमा राखेर मात्रै अगाडि बढ्न सकिने उनको भनाइ छ । अहिलेको प्राथमिक मुद्दा पार्टी एकतालाई बनाउन नहुने उनले बताए । उनले पार्टीभित्र औपचारिक र अनौपचारिक रुपमा पार्टी एकताको बारेमा छलफल नै नभएको स्पष्ट पारे । वामपन्थी एकता आवश्यक भएपनि अहिले सम्भव नरहेको उनको भनाइ छ ।

‘एकताको प्रस्ताव हाम्रो पार्टीमा पनि छैन । व्यक्तिहरुले कुन–कुन विषयमा छलफल गर्नुहुन्छ ? कति गम्भीर भएर छलफल गर्नुहुन्छ? यो कुरा थाहा हुँदैन । तर, पार्टीमा यो विषय न औपचारिक रुपले आएको छ, न अनौपचारिक रुपले हामीसँग छलफल भएको छ ? यसकारण हाम्रो पहिलो एजेण्डा एकीकृत समाजवादीलाई बलियो पार्नु हो । एकीकृत समाजवादीलाई केन्द्रविन्दु बनाएर कुनै पनि शक्ति सँगै हिँड्न चाह्यो भने त्यसपछि छलफल गर्ने विषय वस्तु निर्माण हुन सक्छ । त्यसकारण आज माओवादीमात्र होईन, कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्नुपर्छ भन्ने दृष्ट्रिकोणबाट हामी हिँडिरहेका छैनौं,’– उनले भने ।

उपाध्यक्ष खतिवडा पार्टी एकताका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष नेपालको बीचमा कुरा मिलेपनि पार्टी–पार्टीको कुरा नमिल्ने बताउँछन् । नेता खतिवडाले आफूहरुले एकीकृत समाजवादीलाई कमजोर बनाउने गरी एकतालगायतका कुनै पनि गतिविधि हुन नदिने बताए । ‘माधव कुमार नेपाल र प्रचण्डको कुरा त मिल्न सक्छ । व्यक्तिगत रुपमा । तर, पार्टी–पार्टीको कुरा मिल्नुपर्यो नि ? एकीकृत समाजवादीलाई आगामी निर्वाचनबाट सशक्त रुपमा स्थापित गर्न हामी हिँडिरहेका छौं,’– उनले भने ।

एकीकृत समाजवादीभित्र तत्काल कसैसँग पनि एकता गर्न नहुने र गरेमा पनि एमालेसँग नै गर्नुपर्ने बलियो बन्दै गएको बताइन्छ । पार्टीले आपेक्षाअनुरुप काम गर्न नसकेपछि नेता तथा कार्यकर्ताहरुको मोह पुरानै पार्टीतर्फ देखिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्