Logo

रवि लामिछानेमाथि तीन कसुरमा अनुसन्धान, प्रहरीले बुझायो प्रतिवेदन



काठमाडौं, १ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान सकेर कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवदेन बुझाएको छ । गत कार्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको हो ।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेको र सो प्रतिवेदन र प्रमाणका आधारमा कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारेमा अध्यायन र निर्क्यौल हुनै बाँकी रहेको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले बताएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्नता रहेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो । गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेको बेलामा सहकारीबाट पैसा लानमा भूमिका निर्वाह गरेको र सो पैसा अपचलनमा संलग्न भएको उनीमाथि आरोप छ । लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ पनि हिरासतमा नै छन् । उनीहरुलाई पनि प्रतिवादी बनाइ प्रहरीले प्रतिवेदन पेश गरेको हो । सो कसुरका मुख्य नाइके भनिएको गितेन्द्रबाबु राई भने फरार छन् ।



प्रतिक्रिया दिनुहोस्