काठमाडौं, १ मंसिर । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएको छ । कास्की प्रहरीले लामिछानेसहित ५१ जनाविरुद्ध अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरेको छ ।
प्रहरीले रास्वपा सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, सहकारी ठगीमा फरार रहेका गितेन्द्रबाबु राईलगायतलाई प्रतिवादी बनाएको छ । उनीहरुसँग १ अर्ब ५१ करोड बिगो मागदाबी गरिएको छ ।
प्रहरीले पेश गरेको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ । करिब ६ सय पृष्ठभन्दा लामो उक्त प्रतिवेदन अध्ययन सकेपछि सरकारी वकिल कार्यालय अदालत पेश गर्नेछ । प्रतिवादी बनाइएका ५१ जनामध्ये ३७ प्रतिवादी फरार छन् । प्रतिवादीहरुलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।