Logo

एमालेमा जान वामदेवले खोजे भाउ, एकीकृत समाजवादीमा भित्र्याउने माधवको दाउ



काठमाडौं, २ पुस । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ । विगत ६ दिनदेखि निरन्तर जारी रहेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले आज वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा निर्णय गर्ने बताइएको छ ।

बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुलीले वामदेवलाई पार्टीमा भित्र्याउने बारेमा प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा आज छलफल हुने र निश्कर्ष निकालिने बताइएको छ ।

राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य गौतमलाई पार्टी प्रवेशका लागि मार्ग प्रशस्त गर्दा पनि उनी नेकपा (एमाले) जान हिचकिचाइरहेका छन् । गौतम एमालेका पूर्व उपाध्यक्षसमेत हुन् । माओवादी केन्द्र र नेकपा (एमाले) मिलेर बनेको नेकपा विभाजनपछि उनी कुनै दलतिर पनि नलागी अभियानको संयोजक भएर बसेका छन् ।

वामदेवलाई पार्टीमा भित्र्याउन एमालेले ७० वर्षे उमेर हद हटाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झस्किएका वामदेव उमेर हद हटाउँदा पनि पार्टी प्रवेशका लागि तयार भएनन् ।

एकीकृत समाजवादीमा अहिले स्वर्गीय नेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) स्वीकार गर्ने विषयमा मतैक्यता छैन । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जबजको पक्षधर देखिएका छन् । सम्मानित नेता झलनाथ खनाल भनेर जबज स्वीकार गर्न नहुने र पार्टीले जबज नै स्वीकार गरेर अगाडि बढ्ने हो भने एकीकृत समाजवादीमा भन्दा एमालेमै जनता आकर्षित हुने बताउँदै आएका छन् । सम्मानित नेता खनालले त जबजलाई ‘दक्षप्रजापतिको घाँटीमा जोडिएको बोकाको उल्टो टाउको’ संज्ञा दिँदै आएका छन् ।

जबज स्वीकार गर्नुपर्ने पक्षमा वामदेवले एकीकृत समाजवादीलाई प्रस्ताव पठाएका थिए । सो प्रस्तावमाथि आज छलफल भएर पास भएमा वामदेव केही दिनमा नै एकीकृत समाजवादीमा प्रवेश गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्