Logo

जनतामा निराशा बढ्यो, सरकारले आशाको सञ्चार जगाउनुपर्छः सांसद घिमिरे



काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रामजीप्रसाद घिमिरेले अहिले मुलुकका सबै क्षेत्रमा निराशा बढि भएकोले आशाको सञ्चार गर्नुपर्नेमा जोड दिएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले मंगलबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद घिमिरेले सो कुरा बताएका हुन् । उनले मिडियाको दुरुपयोग र राजनितिक वितृष्णाले नागरिक तहमा निराशा बढेर गएको र सबै क्षेत्रमा निराशा मात्रै देखिंदा विभिन्न सामाजिक दुर्घटनाहरु समेत भइरहेको बताए ।

लुम्बिनी प्रदेशसभाको पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका सांसद घिमिरेले राजनिति र सरकारले मिडियाको दुरुपयोग गर्न खोजेपनि पत्रकार र मिडिया बफदार रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

सबैतिर निराशा र नकरात्मकता हाबी हुँदा मुलुकका उपलब्धि गुम्ने खतरा बढ्ने भन्दै उनले सकरात्मक सोंचको सञ्चार पैदा गर्नुपर्ने खाँचो औल्याएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्ने समेत योजनामा आयोजित साक्षात्कारमा बोल्दै प्रदेश सांसद घिमिरेले संचार क्षेत्रले जिम्मेवार भूमिका निर्बाह गर्न र सकरात्मक सन्देश दिन चुक्न नहुने बताए ।

नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनेको अहिलेको सरकारप्रति जनतामा आशा पलाएको दाबी गर्दै घिमिरेले अर्घाखाँचीको ठाडामा इलाका प्रशासन कार्यालय स्थापनाको पहल भइरहेको पनि जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री बिष्णुप्रसाद खनाल (मुस्कान) ले अहिलेको सरकार आगामी निर्वाचनसम्म कायम रहने उल्लेख गरे । राजनितिक स्थायीत्व र मुलुकको विकासमा गति दिन बनेको सरकार आज ढल्छ, भोली ढल्छ भन्ने भ्रम फैलाएको भन्दै लुम्बिनी प्रदेशका राजनीति संयन्त्र सदस्य समेत रहेका नेता खनालले सरकार निर्वाचनसम्म यथावत रहने जिकिर गरे ।

कार्यक्रममा रास्वपा जिल्ला सभापति हरी प्रसाद भुसाल, पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेम आचार्य, जिल्ला अध्यक्ष गणेश खनाल, पूर्व केन्द्रीय सदस्य राधा नेपाली लगायतले बोलेका थिए । कार्यक्रममा बोल्दै उनीहरुले समाजिक सन्जालको दुरुपयोगले मिडिया र प्रेस जगतमा चुनौति थपेको बताउनुभएको छ । खोजपत्रकारिता र आवाज विहिनका आवाज मुखरित गर्न पत्रकारका कलम चलायमान हुनुपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्