काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले व्यवस्था र संविधानलाई बचाउन विचार र सिद्धान्त बिर्सिएर कांग्रेस–एमाले एक ठाउँमा आएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देश बचाउने कुरामा आफूहरु एक ठाउँमा उभिएको बताएका हुन् । उनले कांग्रेस–एमाले गठबन्धन अहिलेको आवश्यक्ताको आधारमा बनेको बताए ।
साथै, उनले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको र आगामी ०८४ को निर्वाचनसम्म अगाडि बढ्ने बताए । ‘कांग्रेस–एमालेको अहिलेको गठबन्धन आवश्यकताको आधारमा भएको हो । यो सरकार असफल भयो भने राष्ट्र असफल हुन्छ । यो कुरा नेपाली कांग्रेसका नेता, एमालेका नेताहरुले बुझ्नु भएको छ । यो सम्झौता टुट्दैन । अर्को निर्वाचनसम्म हामी यसलाई निरन्तरता दिन्छौं,’– उनले भने ।
कांग्रेस सदैव देश, समाज, संविधान र व्यवुस्थाको रक्षाको पक्षमा रहेको उनले बताए । अहिले कांग्रेस नेकपा (माओवादी केन्द्र) सँग मिल्ने सम्भावना नरहेको बताए ।