काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले नेपालले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नलिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले नेपालले बीआरआई ऋणमा लिनपनि नहु्ने बताए ।
बीआरआई अनुदानमै लिने भनेर अहिले फ्रेमवर्कमा हस्ताक्षर भएको आयोजना छनोटको क्रममा अनुदानमा नपाए ऋण नलिइने उनको भनाइ छ । ‘हामीले ऋणमा बीआरआई लिएका छैनौं । हिजो पनि अरु राष्ट्रहरुले ऋण दिन्छौं भन्दा हामीले लिएनौं । अनुदान दिन उनीहरु बाध्य भए र दिए । हामी प्रोजेक्टमा छलफल गर्छौं । ऋणमा लिँदैनौं भनेपछि दिनेले बलजोड गरेर घरमा ल्याएर दिँदैन । आफ्नो आवश्यकताअनुसारको हामी कुरा गर्छौं,’– उनले भने ।
नेता ढुङ्गानाले व्यवस्था र संविधानलाई बचाउन विचार र सिद्धान्त बिर्सिएर कांग्रेस–एमाले एक ठाउँमा आएको बताए । उनले देश बचाउने कुरामा आफूहरु एक ठाउँमा उभिएको र कांग्रेस–एमाले गठबन्धन अहिलेको आवश्यक्ताको आधारमा बनेको दाबी गरे ।
साथै, वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको र आगामी ०८४ को निर्वाचनसम्म अगाडि बढ्ने उनको भनाइ छ । ‘कांग्रेस–एमालेको अहिलेको गठबन्धन आवश्यकताको आधारमा भएको हो । यो सरकार असफल भयो भने राष्ट्र असफल हुन्छ । यो कुरा नेपाली कांग्रेसका नेता, एमालेका नेताहरुले बुझ्नु भएको छ । यो सम्झौता टुट्दैन । अर्को निर्वाचनसम्म हामी यसलाई निरन्तरता दिन्छौं,’– उनले भने ।
कांग्रेस सदैव देश, समाज, संविधान र व्यवुस्थाको रक्षाको पक्षमा रहेको उनले बताए । अहिले कांग्रेस नेकपा (माओवादी केन्द्र) सँग मिल्ने सम्भावना नरहेको बताए ।