Logo

वामदेवलाई एमालेले भन्यो: हतारमा समाजवादीतिर हाम नफाल्नु, पछुतो होला



काठमाडौं । केही वर्षदेखि राष्ट्रिय एकता अभियानको नेतृत्व गरिरहेका नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम आफ्नो अभियानलाई विश्राम दिने मनस्थितिमा पुगेका छन् ।

उनी एकता अभियानको दलबलसहित छिट्टैनै नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । एकीकृत समाजवादीको मंगलबार सकिएको स्थायी समितिको बैठकले वामदेवलाई पार्टीमा भित्र्याउने इच्छा देखाएपछि उनी सोही पार्टीमा जाने तयारीमा जुटेका हुन् ।

भैसेपाटीस्थित आफ्नै निवासमा एकता अभियान नामको पार्टी कार्यालय खोलेर बसेका गौतम नेकपा एमाले र नेकपा एकीकृत समाजवादीमध्ये सुरुमा जसले बोलाउँछ त्यसैमा जाने तयारीमा थिए । पटक-पटक नेकपा एमालेमै फर्किने कोशिस गरेका गौतम सफल भएनन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेटेर पार्टीमा भित्र्याउन आग्रहसमेत गरेका थिए । तर, एमालेले भाउ दिएनन् । एमालेले भाउ नदिएपछि गौतमले एकीकृत समाजवादीमा जाने मनस्थिति बनाएका हुन् ।

स्रोतका अनुसार एकीकृत समाजवादीमा वरिष्ठ नेताको पद लिएर जान लागेका गौतमले भोलि समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने तयारी गरेका छन् । गौतम र नेपालबीचको भेट भोलिका लागि तय भएको र भोलि नै यस विषयमा निर्णय हुने बताईएको छ ।

यता एकीकृत समाजवादीमा जान लागेका गौतमलाई नेकपा एमालेले भने अलमल्याउने प्रयास गरेको छ । एमालेका दोस्रो तहका केही नेताहरुले गौतमलाई फोन गरेर तत्काल एकीकृत समाजवादीमा नजान भनेका छन् । एमाले महासचिव शंकर पोख्रेल, उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले फोन गरेर तत्काल पार्टी प्रवेशको निर्णय नलिन आग्रह गरेका हुन् ।

‘केही समय कुर्नुहोला । हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला । केही समय धैर्य गर्नुहोला’ एमाले नेताको भनाइ उदृत गर्दै स्रोतले भन्यो । पार्टीमा भित्र्याएर भैसेपाटी क्षेत्रको इन्चार्ज बनाउन भन्दा समेत नमानेको तर,अहिले रोक्ने प्रयास गरेको भन्दै वामदेवले भने असन्तुष्टि पोखेको स्रोतले जनाएको छ ।

गौतम पूर्व उपप्रधान तथा गृहमन्त्री हुन् । ०७५ सालमा एमाले र माओवादी केन्द्र मिलेर पार्टी एकता भएर नेकपा बन्दा सचिवालय सदस्य थिए । नेकपाको विवाद उत्कर्षमा पुग्दा कहिले केपी ओली त कहिले पुष्पकमल दाहाल प्रचण्डतिर लागेका गौतमलाई त्यसपछि भने यी दुवैले खासै भाउ दिएनन् । नेकपाको विघटनपछि एमाले र माओवादी पुरानै अवस्थामा फर्किएपछि निष्कृय बनेका गौतम हाल भने एकता अभियानको नेतृत्व गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्