काठमाडौं, ३ मंसिर । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कांग्रेस–एमाले गठबन्धन सरकारले जनतालाई अनुभूति दिलाउने काम गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले वर्तमान सरकारले काम नै नगरेको भन्ने कुरा सत्य नभएपनि अझै जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
साथै, नेता खतिवडाले वर्तमान सरकारले ०८४ सम्म नै निरन्तरता पाउने दाबी गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली आफैं प्रधानमन्त्री रहेको र उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्ण समर्थन रहेको बेलामा सरकार ढल्ने प्रश्न नै नरहेको बताए ।
‘कांग्रेस र एमालेको सहमतिअनुसार सरकार बनेको छ । प्रधानमन्त्री एमालेकै हुनुहुन्छ, उहाँ सरकार ढाल्ने पक्षमा हुनुहुन्न । शेरबहादुर देउवाले जहिले पनि समर्थन गरिरहनुभएको छ । अनि किन हल्ला गरेको ? अहिले सरकार ढल्ने कुरै छोड्नुस्, क, ख, ग बाट ढ सम्म पुग्ने कुनै सम्भावना नै छैन । राम्रोसँग काम गरेर अगाडि बढ्नुपर्छ । ०८४ सम्म यही सरकार जान्छ । यत्रो बहुमत भएको सरकारप्रति भ्रम सिर्जना गर्नेप्रति तपाईँपनि सचेत हुनुपर्यो,’– उनले भने । File Photo/RN