Logo

मध्यपुर थिमि नगरपालिकाद्वारा ‘मध्यपुर महोत्सव–२०८१’ आयोजना, विभिन्न सांस्कृतिक प्रदर्शनसहित ३ दिनसम्म चल्ने



काठमाडौं, ४ पुस । मध्यपुर थिमि नगरपालिकाले मध्यपुर महोत्सव–२०८१ आयोजना गरेको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराइएको हो । नगर प्रमुख एवं महोत्सवका संयोजक सुरेन्द्र श्रेष्ठले पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउन र स्थानीय सम्पदालाई रोजगारी एवं आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशील र प्रगतिशील बनाउने अवधारणामा महोत्सवको आयोजना गरिएको बताए । स्थानीय मौलिकतालाई केन्द्रमा राखेर सञ्चालन गर्न लागिएको महोत्सव एउटा जीवन्त र दीगो पर्यटनमुखी बनाइने बताइएको छ ।

महोत्वस आगामी पुस १२ देखि १४ सम्म चल्ने छ । महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको बताइएको छ ।

साथै, महोत्सवले नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवर्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने र समय–समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने अपेक्षा गरिएको छ । महोत्सव थिमि शंखधरचोकबाट शुरु भई विभिन्न कार्यक्रम र प्रदर्शनी गरिने बताइएको छ । बालकुमारी, चपाचो, नगदेश र वोदे हुँदै तिगनिको नीलबाराहीलगायतका ऐतिहासिक बस्तीक्षेत्रमा महोत्सव सञ्चालन हुने बताइएको छ ।

महोत्सवमा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने छ । स्थानीय मौलिक कला संस्कृतिका अन्तर्गत २५ वटा विभिन्न नाचहरु प्रदर्शन हुने र साँस्कृतिक बाजागाजा तर्फ २६ प्रदर्शनी हुने बताइएको छ । महोत्सवका आकर्षणहरुमा भगवान गौतम बुद्धको अस्तुधातु,चपाचोको पाटी, विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छड्ने जात्राको प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिव ५ फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको हिटर आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजीको जीवन्त प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखी मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारको प्रदर्शन आदि महोत्सवको आकर्षणको रुपमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्