काठमाडौं । भारतले नियमित रूपमा नेपालले केही वर्षदेखि गर्दै आएको विद्युत्मा विभिन्न बहाना बनाएर पिकआवरमा नदिने नीति लिएको भन्दै केही मिडियामा सार्वजनिक समाचारप्रति उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालमा हाल भैरहेको विद्युत कटौतिलाई लिएर उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको उच्च श्रोत तथा कर्मचारीको हवाला दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखी वर्तमान सरकारप्रति भारतको नकारात्मक सम्बन्धका कारण भन्दै राजनीतिसँग जोडेर भारतले पिक आवरमा विद्युत सप्लाई नदिएको भन्दै समाचार आएपछि मन्त्रालयले विज्ञप्तिनै निकालेर खण्डन गरेको हो । बिहीबार मन्त्रालयका प्रवक्ता एवं सहसचिव चिरञ्जीवी चटौतले एक विज्ञप्ति जारी गर्दै सो समाचारको खण्डन गरेका हुन् ।
नेपाल-भारत दुई देश बीचको युगौं पुरानो मित्रवत सम्बन्धलाई खलल् पार्ने प्रायोजित योजना अनुरूप यस्ता खालका समाचार प्रकाशन वा सम्प्रेषण गर्ने गराउने र गर्न उक्साउने जो कोहीलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा मन्त्रालयले जोड दिंदै उक्त भ्रामक, असत्य र कपोलकल्पित एवं छिमेकी देशप्रति पूर्वाग्रह राखी प्रकाशित समाचारको खण्डन एवं भत्सर्ना गरेको छ ।
‘सुख्खा महिनाहरुमा नेपालका जलविद्युत आयोजनाहरुको उत्पादन घट्न गई भारतबाट विद्युत आयात गरी यहाँको विद्युत माग-आपूर्तिको सन्तुलन मिलाइदै आएकोमा भारतको इनर्जी एक्सचेन्ज बजारबाट खरिद गरिने विद्युत भारतको आफ्नै विद्युत माग बढी भएका कारण पिक आवरमा नेपाललाई उपलब्ध गराउन नसके पनि भारतीय विद्युत व्यापार कम्पनीसँगको सिधा वार्तामा आधारित दुई पक्षीय सम्झौता (पिपिए) मार्फत वा बिड आव्हान मार्फत वा पावर एक्सचेन्ज कमिटी (पिइसि) अन्तर्गत विद्युत आयातका लागि नेपाल विद्युत प्राधिकरणले आवश्यक पहल गर्न सक्ने र त्यसरी विद्युत आयात गर्न भारत सरकारले कुनै रोक नलगाएको यथार्थ तथ्य रहेको व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।