काठमाडौं, ५ पुस । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष शुवोधराज सेर्पालीले अदालतका न्यायाधीशहरुले निश्पक्ष न्याय सम्पादन नगरेको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले जनयुद्ध शब्द प्रयोग नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेसँगै वाईसीएल अध्यक्ष सेर्पालीले न्यायाधीशहरुले मालिकका लागि नुनको सोझो गरेको टिप्पणी गरेका हुन् ।
फरक कारणसहित परेको मुद्दामा सर्वोच्चले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेकपा विभाजन गरिदिएको सन्दर्भसमेत उल्लेख गर्दै उनले भनेका छन्, ‘कहिले जनयुद्ध शब्द नराख्नु भन्छौं, कहिले हिंसा शब्दको वर्षा गर्छौ । कहिले फरक कारणसहित परेको मुद्दामा नेकपा विभाजन गरी एमाले ब्युताउछौ । सम्मानित अदालतका श्रीमानहरू, तपाइँहरू आफ्ना ठानेकाहरुका लागि अनेक जुक्ती निकाल्नुहुन्छ । जेहोस्, तपाइँहरुको मर्जी न हो, मालिकको नुनको सोझो गर्नुहोस्,’– सेर्पालीले भनेका छन् ।
अध्यक्ष सेर्पालीले २०६३/०६३ को जनआन्दोलन, ऐतिहासिक १२बुँदे सम्झौता, अन्तरिम संविधान, संविधान सभाको निर्वाचन, संविधानसभाबाट संविधान जारी र जनमुक्ति सेना नेपालको समायोजनजस्ता कामहरु जनयुद्धको जगमा भएको स्मरणसमेत गराएका छन् । उनले राज्यमा आज लागू भइरहेको प्रगतिशील संविधानको जग नै जनयुद्ध रहेको जिकिर गरेका छन् । फैसलाले जनतामाझ न्यायाधीशहरु अमुक पार्टीको निर्णय लागू गर्ने मतियार हो कि भन्ने आशंका पैदा गराएको पनि उनको टिप्पणी छ । ‘श्रीमानहरू न्यायाधीश बन्नुस न्यायमुर्तिको काम गर्नुस्, आम नागरिक स्तरबाट कुनै अमुक पार्टीको निर्णय लागू गर्ने मतियार हो कि भन्ने आशंका पैदा गरी मनपरी फैसला जारी नगर्नुहोस्,’– उनले भनेका छन् ।
संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधानविपरित रहेको भनी परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले जनयुद्ध शब्द प्रयोग नगर्न आदेश दिएको थियो ।
यो पनि पढ्नुहोस्ः जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश