Logo

मन्त्री हेरफेर गर्न नहुने कांग्रेसको अडान कायमै, पार्टीमा छलफल नै नभएको सहमहामन्त्री परियारको दाबी



काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य जीवन परियारले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु परिवर्तन नहुने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार बनेको ५ महिना नपुग्दै मन्त्रीहरु परिवर्तन हुने कुरा व्यवहारिक नहुने बताएका हुन् ।

उनले पार्टीभित्र अहिले मन्त्रीहरु हेरफेरको विषयमा कुनै पनि छलफल नभएको बताए । सरकार बनेको यति छोटो अवधिमा मन्त्रीहरु हेरफेर गर्दा राम्रो सन्देश नजाने उनको भनाइ छ ।

‘नेपाली कांग्रेसबाट अहिले भर्खरै मन्त्रीहरु हेरफेर गर्ने भन्ने चाहीँ केहीपनि छैन । बाहिर विभिन्न खालका हल्लाहरु त आएका छन् । तर, के हो भने भर्खरै मन्त्री भएर ५ महिनामात्रै पुग्दैछ । अहिले नै मन्त्री हेरफेर गरिहाल्ने भन्ने कुरा आफैंमा व्यवहारिक हुँदैन,’– उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री सहभागी छन् । तर, केही मन्त्रीको कार्यसम्पादनलाई लिएर प्रधानमन्त्री ओली असन्तुष्ट छन् । प्रधानमन्त्री ओलीले मन्त्री फेरबदल गर्न चाहेपनि कांग्रेसले मानिरहेको छैन । प्रधानमन्त्री ओलीले मन्त्री फेरबदलको सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्