Logo

रवि लामिछानेलाई हिरासतमा राम्रो मानवीय तथा पदीय व्यवहार गरेको पुष्टि भयोः पूर्वडीआईजी ठकुरी (भिडिओसहित)



काठमाडौं, ५ पुस । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले थुनामा भएको व्यक्तिको तस्विर सार्वजनिक हुनुलाई ठीक मान्न नसकिने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रहरीको हिरासतमा रहेका जो–कोहीको पनि तस्विर खिच्नु र सार्वजनिक गरिनु कानुनविपरीत हुने बताएका हुन् । यसले व्यक्तिको गोपनीयताको हक हनन हुने उनले बताए ।

साथै, प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सार्वजनिक भएको तस्वीरले उनलाई राम्रो मानवीय तथा पदीय व्यवहार गरेको पुष्टि भएको पनि उनले बताए । ‘किताब दिइरहेको छ, सिङ्गल रुम दिइरहेको रहेछ । त्यत्रो राम्रो खाट दिइरहेको रहेछ । राम्रो मानवीय व्यवहार र उहाँको पदीय व्यवहार गर्नुपर्ने हो, त्यो गरेको देखियो,’– पूर्वडीआईजी ठकुरीले भने ।

साथै, कानुनी रुपमा समान व्यवहार भनिएपनि प्रहरी हिरासत वा कारागारमा साना र ठूलालाई गरिने व्यवहार फरक रहेको उनले बताए । ‘हाम्रो समाज तह–तहको छ । सानो मान्छेसँग गरिने व्यवहार एउटा, हाम्रो नेपालमा मात्रै होईन, साउथ एसिया र थर्ड वर्ल्डमा यस्तै हुन्छ । सानो मान्छेसँग गरिने व्यवहार एउटा र शक्ति केन्द्रसँग नजिक भएका र शक्तिमा भएका मानिससँग गरिने व्यवहार फरक छ । काठमाडौंमा यदि कोही ठूलो मान्छे थुनामा पर्यो भने जहिले पनि सिंहदरबार र जेलमै बस्नुपर्यो भनेपनि डिल्लीबजार किन पठाइन्छ भन्नुस् त ? त्यसैबाट बुझ्न सकिन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्