काठमाडौं, ५ पुस । काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरुलाई दुःख दिने कवाडमा तोडफोड गर्ने जस्ता कार्य गर्दै आएको भन्दै कावाड व्यवसायी समाज नेपालले आपत्ति जनाएको छ । आज (शुक्रबार) पनि काठमाडौंको अनामनगर, विशालनगर, बानेश्वर र सेतोपुल क्षेत्रका कवाडमा तोडफोड गरिएको, कवाड व्यवसायीका समान जफत गरिएको र व्यवसायीलाई अभद्र व्यवहार गरिएको कवाड व्यवसायी समाज अध्यक्ष राम केवल गुप्ताले बताएका छन् ।
महानगरको ज्यादती तत्काल रोकी शान्त र सहज ढंगले पेशा सञ्चालन गर्ने वातावरण बनाइदिन उनले सरोकारवालाहरुको ध्यानाकार्षण गराएका छन् । महानगरको ज्यादती तत्काल नरोकिएको खण्डमा विरोधका कार्यक्रम सुरु गर्ने र आफूहरु पेशा व्यवसायको संरक्षणका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको अध्यक्ष गुप्ताले बताएका छन् ।