काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार र शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी पुस २७ गते भव्य रुपमा पृथ्वी जयन्ती मनाउने निर्णय गरेको हो ।
‘यस वर्ष पनि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस उत्सवका रूपमा मनाउने, पृथ्वी जयन्ती भव्य बनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन। पृथ्वी जयन्तीलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन। सबै जिल्लामा पृथ्वी जयन्ती विविध कार्यक्रम गरी भव्य रूपमा मनाउन जिल्ला कार्य समितिहरूलाई निर्देशन दिने’ बैठकपछि राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राप्रपाको बैठकमा गत महिना भएको स्थानीय तहको उपनिर्वाचनबारे पनि छलफल भएको छ । गत मंसिर १६ गते देशका ४१ स्थानमा उपनिर्वाचन भएको थियो । जसमा राप्रपाले लज्जास्पद मत ल्याएको थियो । एकाधबाहेकका सबै स्थानमा जमानत जफत गराएके राप्रपाले गत निर्वाचनमा भन्दा सुधारिएको निष्कर्ष निकालेको छ ।
‘हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको राप्रपाले गम्भीरतापूर्वक समीक्षा गरेको छ। निर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसके पनि अधिकांश स्थानमा मतमा सुधार भएको छ, यद्यपि परिणाम विजयका लागि पर्याप्त हुन सकेन’ राप्रपाले भनेको छ ‘प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणका अवसरका रूपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्तदुरुस्त र चलायमान बनाउने’ ।
राप्रपाले स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको समिति गठन समेत गरेको छ ।
राप्रपाको अर्को बैठक बाँकी एजेन्डामा छलफल गर्न मंगलबार पनि बस्नेछ ।