काठमाडौं, ७ पुस । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भौतिक संरचनाको अभावमा सोचेअनुरुप खेल र खेलाडीको विकास हुन नसकेको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रिकेटका लागि टीयू मैदानको पूर्वाधारले मात्रै नधान्ने र अन्य पूर्वाधारको विकार कछुवाको गतिमा भइरहेको बताए । उनले मुलपानी, गौतमबुद्धलगायतका राष्ट्रिय गौरवको आयोजनाको काम कछुवाको गतिमा भइरहेको उनको भनाइ छ ।
‘सुरुवाती चर्चाजस्तै पूर्वाधार, टियू मैदानको पूर्वाधारले पुगेन । मुलपानी कछुवाको गतिमा भयो, गौतमबुद्ध भएन । सुदूरपश्चिम र मधेशमा त गतिलो चौर पनि छैन,’– उनले भने ।
नेपाल प्रिमियर लिग (एनपीएल) को व्यवस्थापकको रुपमा क्यान सफल भएको उनको दाबी छ । क्रिकेटको विकासमा नेपाल सरकार र सम्बन्धित निकायको योगदान एकदमै काम रहेको उनले बताए । क्रिकेट र खेलाडीको विकासका लागि बजेट व्यवस्थापन गरिदिन उनले खेलकुदमन्त्री तेजुलाल चौधरीको ध्यानाकार्षण गराए ।
‘क्रिकेटको विकासमा नेपालल सरकारको योगदान, क्रिकेट गतिविधि विस्तारका लागि छैन । युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद या कुनै निकायले पनि क्रिकेटको विकासको लागि भनेर बजेट छुट्याएको अवस्था छैन । त्यसतर्फ पनि सोच्नुपर्ने हो कि ?’ अध्यक्ष चन्दले भने ।
साथै, खेलाडीहरुको बृतिविकासको कुरामा पनि नीति नबनेको उनले दुःखेसो पोखे । २०/२५ वर्ष देशको लागि खेलिसकेपछि खेलाडीले के गर्ने भनेर अझैं अन्यौलतामा रहेको उनको भनाइ छ । सो अन्तर्क्रिया कार्यक्रममा सहभागी रहेका खेलकुदमन्त्री चौधरीलक्षित गर्दै उनले ताली बजाएर र भाषण गरेरमात्रै क्रिकेटको विकास हुने बताए ।
‘ताली बजाएर क्रिकेटको धेरै विकास होलाजस्तो लाग्दैन । भाषण गरेरमात्रै विकास होलाजस्तो लाग्दैन । अब यसलाई नीतिगत निर्णय गरेर कामका माध्यमबाट पूर्वाधारहरु बनाएर र खेलाडीहरुलाई हौसला प्रदान गर्ने नीति ल्याएर प्रतियोगिता र तयारीहरुको लागि पनि सरकारले बजेटको व्यवस्था गर्यो भनेर नेपाल पनि भविष्यमा विश्वकपमा पर्छ,’– उनले भने ।
साथै, एउटा प्रदेशमा न्यूनतम् एउटा रङ्गशाला अहिलेको आवश्यकता रहेको पनि उनले बताए । क्रिकेटले देशको अर्थतन्त्रमा प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुयाइरहेको उनको दाबी छ ।