Logo

समिक बडालकै गृहजिल्ला काभ्रेमा अनेरास्ववियु ‘विभाजित’, ओलीलाई चुनौती दिँदै गोकुलपक्षले घोषणा गर्‍यो ‘समानान्तर कमिटी’



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेनिकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु काभ्रेमा विभाजित भएको छ । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको गृहजिल्लासमेत रहेका काभ्रेमा एमाले अध्यक्ष केपी शर्मा ओली र पोलिटब्युरो सदस्य गोकुल बास्कोटा पक्षले फरक फरक कमिटी चयन गरेको हो ।

काभ्रे २ बाट निर्वाचित सांसद तथा पूर्व सञ्चारमन्त्री रहेका बास्कोटाले अध्यक्ष ओलीलाई चुनौती दिँदै समानन्तर कमिटी घोषणा गरेका हुन् । गत शनिबार भएको अधिवेशनबाट दुवै पक्षले जिल्ला कमिटी चयन गरेका छन् । दुवै पक्षले सर्वसम्मत नेतृत्व चयन भएको भन्दै छुट्टाछुट्टै कमिटी सार्वजनिक गरेका हुन् ।

गत शनिबार बास्कोटाले उद्घाटन गरेको अधिवेशनबाट दीपेश तिम्लिसिनाको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ । यो कमिटीको उपाध्यक्षमा सौगात अधिकारी, आयुष बडाल र सुजन सापकोटा, सचिवमा प्रवीण पौडेल, सहसचिवमा तिर्सना तामाङ, आभाष चौलागाईं र उत्कर्ष दाहाल र कोषाध्यक्षमा प्रजिता ढुंगाना रहेका छन् ।

यता संस्थापन पक्षले भने निराजन तिम्लिसिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन मण्डनका अध्यक्ष हेमराज हुमागाईंले घोषणा गरेको कमिटीको उपाध्यक्षमा भिजन थापा, सुजन कोइराला र प्रजिता ढुंगाना, सचिवमा सुजन सापकोटा, सहसचिवमा सन्जिव हुमागाई, उत्कर्ष दाहाल र तृष्णा तामाङ, कोषाध्यक्षमा विनायक न्यौपाने निर्वाचित भएका हुन् ।

ओली र बास्कोटा दुवै पक्षले आ आफ्ना कार्यसमितिलाई आधिकारिक भन्दै प्रचार गरिरहँदा केन्द्रीय अध्यक्ष समिक बडालले भने संस्थापन पक्षले घोषणा गरेको कमिटी आधिकारिक भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । बास्कोटाकै जोडबलमा अनेरास्ववियुको अध्यक्ष बनेका बडाल बाँस्कोटा निकट मानिन्छन् । तर, नयाँ जिल्ला कमिटी भने उनले ओली पक्षलाई रोजेका छन् ।



प्रतिक्रिया दिनुहोस्