काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कांग्रेस–एमाले गठबन्धन सरकारले जनताका आशा र अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले आयोजना गरेको ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले दुइटा ठूला दलको सरकार हुँदा पनि जनताको आशा र अपेक्षा सम्बोधन हुन नसकेको बताएका हुन् । विकास र समृद्धिको सन्दर्भमा पनि सरकारले काम गर्न नसकेको उनको भनाइ छ ।
‘अहिले दुइटा ठूला दलको सरकार छ । ठूला दुइटा दलको सरकारले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्छ भन्ने ठानेका हामी सबैले थियौं । तर, यो पाँच महिनामा आइपुग्दा सम्बोधन नगरेको भन्ने कुरा यहाँहरुबाट नै सम्प्रेषण भइरहेको छ । पक्कै पनि यो सत्य नै होला भन्ने मलाई लाग्छ । विकास र समृद्धि, सुशासनको सन्दर्भमा जुन गति लिनुपर्थ्यो, त्यो ढङ्गमा यो सरकारले काम गरिरहेको छैन भन्ने कुरा आइरहेको छ । त्यतातिर मेरो ध्यानाकार्षण भएको छ,’– उनले भने ।
्
जनतामा निराशा बढ्दै जाने खतराबाट वर्तमान राजनीतिक व्यवस्था र पार्टीहरु प्रति नै गम्भीर खतरा उत्पन्न हुनसक्ने उनले चिन्ता व्यक्त गरे । सुशासन, विकास र समृद्धिको एजेण्डाहरुमा जनतालाई आशा जगाउने दिशातिर सरकार अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
त्यस्तै, आर्थिक समृद्धिको कुरा भाषणबाट भन्दा पनि उत्पादन र रोजगारीबाट दिनुपर्ने उनले बताए । समुदायमा आधारित भएर आर्थिक विकासको मौलिकतामा लाग्नुपर्ने उनको भनाइ छ ।