Logo

माअ‍ोवादीले लेखा समितिको नेतृत्व मागेपछि झोक्किए गोकुल, सभापति फेर्ने भए राष्ट्रियसभा अध्यक्ष पनि फेर्न चुनौती



काठमाडौं । सार्वजनिक लेखा समितिको बैठक जारी छ । सोमबार बिहान ११ बजेदेखि सिंहदरबारमा बैठक बसिरहेको छ । झण्डै ४ महिनापछि बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेपछि गरम बहससमेत भएको छ ।

सोमबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरेल सहकारी ठगीमा मुछिएको भन्दै राजीनामा मागेका थिए । उनले शक्ति सन्तुलनको हिसावले पनि सार्वजनिक लेखा समिति प्रतिपषी दलले पाउनुपर्ने माग गरेका छन् ।

‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ,’ सांसद मोदीले भने, ‘तपाईं आफैं सरकारको नेतृत्वकर्ता दलको हुनुहुन्छ । सरकारको छाया यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

माओवादीले सभापतिको राजीनामा मागेपछि नेकपा एमालेले भने बचाउ गरेको छ । सहिति सभापति पोखरेल एमालेका सांसद हुन् । सोमबारको बैठकमा एमाले सांसदद्धय गोकुल बास्कोटा र योगेश भट्टराईले सभापतिको राजीनामाको रटान नलगाउन माओवादीलाई चेतावनी दिएका छन् ।

राजीनितक सहमतिको आधारमा सभापतिहरु चयन भएको भन्दै भट्टराई केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको सहमतिबिना समितिको नेतृत्व परिवर्तन नहुने प्रष्ट पारे । ‘हिजो एउटा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । यसकारण केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको सहमतिबिना लेखा समिति सभापति बदलिँदैन,’उनले भने ।

माओवादीले निरन्तर सभापतिको राजीनामाको रटान लिएको भन्दै बास्कोटाले पनि आक्रोश पोखेका छन् । उनले गोपी कृष्णको जसरी राजीनामाको रटान नलगाउन आग्रह गरे । उनले समितिको नेतृत्व फेर्ने भए सुरुमा राष्ट्रिय सभा अध्यक्ष पनि फेर्न चुनौती दिए । ‘फेर्ने भए फेरौं । राष्ट्रिय सभा अध्यक्ष पनि फेरौं,’ बास्कोटाले भने ।



प्रतिक्रिया दिनुहोस्