काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचन एक्लै फेस गर्ने बताएका छन् । आज (सोमबार) पार्टीको एक सयदिने अभियानअन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत निर्वाचनमा आस्था गुमाएर अर्को दलको चुनाव चिन्हमा मत हाल्नुपरेको बताए । नेता तथा कार्यकर्ताको उक्त गुनासो अहिले पनि बाँकी नै रहेको बताउँदै उनले पार्टीले आगामी निर्वाचन एक्लै लड्ने तयारी थालिसकेको जनाकारी गराए । कांग्रेसले बहुमत ल्याउनेगरी आगामी निर्वाचन एक्लै लड्ने उनको भनाइ छ ।
‘गत निर्वाचनमा हाम्रो गठबन्धन थियो । कतिपय निर्वाचन क्षेत्रहरुमा हाम्रा साथीहरुले आफने आस्था गुमाएर, आफ्नो चुनाव चिन्ह छोडेर अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्नुपर्यो । एउटा ठूलो गुनासो छ त्यसमा । तर, हामीले केन्द्र र महासमितिदेखि नै माइन्ड मेकअप बनाइसकेका छौं, हामी आगामी चुनाव एक्लै फेस गर्छौं, एक्लै जान्छौं चुनावमा । एक्लै फेस गरेर जाँदाखेरी पनि हार्ने गरी जाँदैनौं, बहुमत ल्याउने गरी जाने हो । यस्तो तयारीको प्रारम्भ अहिलेको अभियान पनि हो,’– उनले भने ।