काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिका जिम्मेवारी डोलप्रसाद अर्यालले पाएका छन् ।सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलेपछि उपसभापति रहेका अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको आकस्मिक बैठकमा सभापति रवि लामिछानेले उपसभापति डोल प्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापति तोकेको जानकारी गराइएको हो ।
रास्वपा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरी हिरासतमा रहँदासमेत कार्यवाहकको जिम्मेवारी नदिएको भनी आलोचना भइरहेको अवस्थामा अर्याललाई कार्यवाहको भूमिका दिइएको हो । रास्वपाको विधानअनुसार उमेरले जेष्ठ उपसभापति कार्यवाहकको भूमिकामा रहन्छन् । रास्वपाका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको सहमतिमै डीपीलाई कार्यवहाकको जिम्मेवारी दिइएको हो ।