Logo

प्रचण्ड र रविका कार्यकर्ताले हालेको धुपले यो सरकार ढल्दैनः महेश बस्नेत (भिडिओसहित)



काठमाडौं, ९ पुस । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै अगाडि जाने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारको आयु अर्को चुनावसम्मै रहेको बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्न खोजेपछि प्रचण्ड र रास्वपाका केही नेताहरुले सरकार ढल्ने भ्रम फिँजाएको उनको दाबी छ । नेता बस्नेतले वर्तमान सरकार ०८४को निर्वाचन अघिसम्म सशक्त ढंगले जाने बताए ।

‘स्वतन्त्र पार्टी र प्रचण्ड पार्टीका मान्छेले के भन्दैछन् भने– यो सरकार ढल्दैछ । त्यो नभने त कार्यकर्ताले पार्टी छाड्छन् । यिनीहरुले आफ्ना कार्यकता थेग्नका लागि सरकार ढल्दैछ भनेका हुन् । सरकार कुनै हालतमा ढल्दैन । सशक्त ढंगले जान्छ । प्रचण्ड र रविका पार्टीका कार्यकर्ताले हालेको धुपले यो सरकारलाई केहीपनि हुनेवाला छैन,’– उनले भने ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओली आगामी पुस २५ गते भारतको औपचारिक भ्रमणमा जाने कार्यतालिका तय भएको उनको दाबी छ । नेता बस्नेतले ओलीको भारत भ्रमण बडो शानदारपूर्ण ढंगले पूरा हुने बताए । ‘लगभग पुसको २५ गते प्रधानमन्त्री भारत भ्रमणमा जाने एक खालको सहमति भइसकेको छ । त्यसलाई औपचारिक ढंगले बाहिर ल्याउने तयारी भएकोजस्तो बुझ्छु म । वर्तमान सरकारले चीन, भारत र हाम्रा मित्र राष्ट्रहरुसँग सौहार्दपूर्ण सम्बन्ध बनाउँछ, सन्तुलित सम्बन्ध बनाउँछ । भारत भ्रमण पनि बडो शानदारपूर्ण ढंगले सम्पन्न हुनेछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्