Logo

विजुली निकालेर नै मुलुकलाई सम्पन्न बनाउने सरकारको लक्ष्य छः उर्जामन्त्री खड्का



काठमाडौं, ९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासाले आज सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नदी तथा खोलाबाट बिजुली निकालेर मुलुकलाई सम्पन्न बनाउने सरकारको लक्ष्य रहेको बताए ।

सरकारले ठूला आयोजनामा गरिब तथा विपन्नको लगानी सुनिश्चित गर्ने उनको भनाइ थियो । विसं २०३५ सम्ममा मुलुकमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको मन्त्री खड्काले बताए । ‘पछिल्लो पाँच महिनामा नौ सय ५० मेगावाट बिजुली बिक्री गरेका छौँ । सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् पुर्याउने लक्ष्य लिएको छ,’– उनले भने ।

अरुणबाट मात्रै पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने र त्यसबाटै जिल्लालाई पनि समृद्ध बनाउन सकिने उनको भनाइ थियो । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले यसबाट मुलुकलाई आर्थिकरुपमा सम्पन्न बनाउने सकिने बताए ।

सङ्खुवासभामै एक हजार ६१ मेगावाटको माथिल्लो अरुणसमेत सरकारको लगानीमा निर्माण गर्ने तयारी भइरहेको मन्त्री खड्काले जानकारी गराए । उनी खाँदबारीमा आयोजित कांग्रेसकोे ‘एक सय दिने अभियान’मा सहभागी हुन आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्