काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सरकारजस्तो नै नरहेको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारमा बसेर प्रधानमन्त्री ओलीले इगो व्यवस्थापन गरिरहेको बताएका हुन् । उनले सत्ताको आडमा ओलीले आफ्ना सपोर्टरको बढुवा र विरोधीको घटुवा गरिरहेको बताए । अहिले सरकारमा सबैभन्दा धेरै इगो बोकेको मान्छे बसिरहेको उनको टिप्पणी छ ।
‘सरकार सरकारजस्तो छैन । यो देशको सबैभन्दा ठूलो इगो बोकेको मान्छे प्रधानमन्त्री हुनुहुन्छ । उहाँले इगोको व्यवस्थापना गरिराख्नुभएको छ । को–को हिजो विरोधी थिए, क–कसले हिजो आफूलाई सपोर्ट गरे ? तिनका बढुवा, घटुवा, इगो म्यानेजमेन्टमा हुनुहुन्छ,’– उनले भने ।
साथै, प्रधानमन्त्री ओलीकै कारण देशको अर्थतन्त्र खोत्रो भएको नेता दीपशीखाको आरोप छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले झापाको धान खेतमा भ्यू टावर, पानीजहाज कार्यालय, रेल कार्यालयलगायतका गतिविधि गरेर आफ्ना कार्यकर्ता व्यवस्थापन गरेको र देशको अर्थतन्त्र खोक्रो बताएको बताए ।
‘अर्थतन्त्र खोक्रो बनाएको त केपी ओलीले होला नि ? झापाको धान खेतमा लगेर भ्यू टावर त माओवादीले बनाएको होईन । नेपालमा एउटा अनौठो कार्यालय छ– पानी जहाज कार्यालय । त्यसमा अर्बौं रुपैयाँ खर्च भएको छ । खासमा त्यसको काम के हो ? नेपालमा रेल कार्यालय छ । खासमा नेपालमा रेल कतिवटा छन् ? त्यसको अर्बौं रुपैयाँ राज्यले दायित्व बोकिरहेको छ । एउटा रेल जनकपुरतिर चलेको छ । तर, हुँदै नभएको पानीजहाज, त्यहाँ कसका कर्मचारी छन् ? त्यसको दायित्व राज्यले किन बोक्ने ?’ प्रश्न गर्दै उनले भने ।