Logo

संसद्मा पनि कांग्रेस–एमालेले बनाए ८ सदस्यीय संयुक्त कार्यदल, विधेयकहरूमा सहमति खोज्ने



काठमाडौं । सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले संसद्मा दुई दलीय संयुक्त कार्यदल गठन गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरूको बैठकले कार्यदल गठन गरेको हो ।

कार्यदलमा दुवै दलका संसदीय विभाग प्रमुख, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका प्रमुख सचेतक रहेका छन् ।

हाल एमालेबाट संसदीय विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईसहित मूख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल र राष्ट्रिय सभामा प्रमुख सचेतक रहेकी भगवती न्यौपाने सदस्य छन् भने नेपाली कांग्रेसबाट संसदीय विभाग प्रमुख जीवन परियारसहित प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ र राष्ट्रिय सभामा प्रमुख सचेतक कृष्णबहादुर रोकाय सदस्य रहेका छन् ।

संसदीय फाँटको काममा सहजीकरण गर्नेगरी संयुक्त कार्यदल बनाउने निर्णय भएको मंगलबारको छलफलमा दुवै दलका दोस्रो तहका नेताहरु सहभागी थिए ।

उक्त छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रममन्त्री आरजु राणा देउवा उपस्थित थिए भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्री प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

यसअघि सरकार सञ्चालन र व्यवस्थित गर्न भन्दै कांग्रेस एमालेले ८ सदस्यीय कार्यदल गठन गरेका थिए । उनीहरुले ती कार्यदल केही प्रदेश र जिल्ला स्तरमा समेत बिस्तार गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्