काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार सुरक्षा व्यवस्थामा चुकेकाले राजीनामा दिनुपर्ने बताएका हुन् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो बाहिर ल्याएको प्रसंग उल्लेख गर्र्दै उनले यस्तो माग गरेका हुन् । नेता दीपशीखाले फोटो खिच्नेलाई पक्राउ गरेको र खिच्न दिनेलाई चाहीँ केही नगरेको भन्दै वर्तमान सरकार नाङ्गै हिँडेको टिप्पणी गरे ।
‘त्यो डा.निकोलस, फोटो खिच्ने अवस्था किन बनाएको त ? गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सुरक्षा व्यवस्थामा चुकेवापत । फोटो खिच्ने मान्छे भेटायो, खिच्यो नि । फोटो खिच्न दिनेलाई चाहीँ कारबाही नगर्ने, खिच्ने डा. निकोलसलाई चाहीँ कारबाही गर्ने कस्तो नाङ्गै हिँडेको सरकार क्या ? तपाईँले नाङ्गै हिँडेको राजाको कथा त सुन्नुभएको होला नि ?’ प्रश्न गर्दै उनले भने ।
साथै, वर्तमान सरकारले सहकारीको ८५ अर्ब छाडेर एक अर्ब ५१ करोडको वरिपरीमात्रै घुमिरहेको बताए । सहकारी ठगीमा नाम मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति ऋषिकेश पोखरेललगायतलाई वर्तमान सरकारले अनुसन्धानको दायरामा समेत ल्याउन नचाहेको उनको टिप्पणी छ । ‘सहकारीको मुद्दा एक अर्ब ५१ करोड मात्रै होईन, ८६ अर्ब हो । किन एक अर्ब ५१ करोडको पछाडि सिङ्गै सरकार कुदेर बसेको छ ? बाँकी ८५ अर्बको बारेमा सरकार किन मौन छ ?’ प्रश्न गर्दैै उनले भने ।