काठमाडौं, १० पुस । नेकपा (एकीकृत समाजवादी) का सचिव एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले भीम रावललगायतका १० भाईले पार्टी विभाजन गरिदिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी विभाजन गर्न उक्साएका नेताहरुले नै साथ नदिँदा अहिले एकीकृत समाजवादी कमजोर बनिरहेको बताएका हुन् ।
नेता पाण्डेले रावललगायतका टीमले नै एकीकृत समाजवादीको विधान तयार गरिदिएको पनि खुलासा गरे । १० भाइले साथ नदिँदा नेपालको कम्युनिष्ट आन्दोलनले धक्का खाएको उनको टिप्पणी छ ।
‘अहिले म १० भाई कसैसँग पनि कुरा गर्न गएको छैन । मेरो चित्त दुखाई पनि छ । किनकी १० भाइले साथ नदिँदाखेरी आज यो पार्टी अली कमजोर बन्यो । १० भाइ चाहीँ संगै भएको भएदेखि आज नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले) बराबर हैसियतमा हुन्थे । अनि अहिलेसम्म पार्टी एकता पनि भइसक्थ्यो । नेपालको कम्युनिष्ट आन्दोलनले यस्तो धक्का पनि खान्थेन । म त भन्छु– १० भाइको कारणले ठूलो नोक्सान भयो,’– उनले भने ।
एमाले विभाजनको बेलामा चर्चामा आएका १० भाइहरुमा रावल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाललगायतका नेताहरु रहेका थिए । माधव कुमार नेपालले पार्टी विभाजन गरिसेकपछि केपी शर्मा ओलीसँग १० बुँदे सहमति गरेर उनीहरु एमालेमै बसेका थिए ।