काठमाडौं, १० पुस । नेपाल कम्युनिष्ट पार्टीले स्वाधीन र समाजवादी गणतन्त्र नेपालको संकल्पसहित राष्ट्रिय मुक्ति मार्च घोषणा गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत देशका दुई ऐतिहासिक तथा सामरिक जिल्लाहरु झापा र कञ्चनपुरबाट पुस ११ गतेदेखि मुक्ति मार्च घोषणा गर्न लागेको जानकारी गराइएको हो ।
चुनावदेखि चुनावसम्मको संसदीय चक्रव्यूहका कारण जनतामा राजनीतिप्रतिको विश्वास टुटेको नेकपाको निश्कर्ष छ । संसदीय गुट, प्रतिशोध र सत्रुतापूर्ण अन्तरविरोधको प्रक्रियाबाट जनता आजित भइसकेको निश्कर्ष निकाल्दै नेकपाले नेपाललाई नयाँ र क्रान्तिकारी विकल्प आवश्यक रहेको निश्कर्ष निकालेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक वसन्त बोगटीले अहिले नेपालको राष्ट्रिय राजनीति र आर्थिक–सामाजिक स्वामित्व नेपाली जनताको हातबाट खोसिएको बताए । देशको राजनीति मुठ्ठीभरका दलाल, पुँजिपति, नोकरशाह र विदेशीहरुको नियन्त्रणमा रहेको उनको दाबी छ । नेपालमा इन्डो–अमेरिकी र चिनियाँ टकराव देखिएको उनले बताए ।
देशका राजनीतिक शक्तिहरु सम्पूर्ण हिसाबले आजको संकट समाधान गर्न असफल भएको उनले बताए । देशका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेत झै–झगडा गर्ने ठाउँमा पतन भएको उनले बताए । संयोजक बोगटीले अहिले देखिएका समस्या साह्रा समाधानका लागि मुक्ति मार्च सञ्चालन गर्न लागिएको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका सह–संयोजक हरिकृष्ण गजुरेल ‘भाष्कर’ ले आज मुलुक संकटग्रस्त अवस्थामा गुज्रिरहेको, संकटै–संकटले जेलिएको बताए । विदेशी उत्पीडन र निजीकरण उन्मूलन गरी स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनामा दृढ संकल्प व्यक्त गर्दै मुक्ति मार्च घोषणा गर्न लागेको बताए ।
सबै प्रकारको विदेशी उत्पीडन र विदेशी हस्तक्षेपबाट मुलुकलाई मुक्त गराउने उद्देश्यसहित पार्टी जनताको बीचमा जान लागेको उनले बताए । ‘माओ डे’ को दिन आफूहरुले राष्ट्रिय मुक्ति मार्च अभियान सुरु गर्न लागेको बताए ।
उनले संसद्वादी राजनीतिक दलहरुले विदेशीको पाउ मोलेर आफ्नो स्वार्थ पूरा गर्ने मानसिकतामा ग्रस्त रहेको बताए । नेपाल आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा ग्रसित रहेको उनको दाबी छ । केही मुठ्ठीभरका दलालहरुले अहिलेको अर्थतन्त्र कब्जा गरिरहेको उनको आरोप छ । उनले मुलुक भुमरीमा फस्नुको मूल कारण संसदीय व्यवस्था रहेको जानकारी जनतालाई गराउन मुक्ति मार्च सञ्चालन गर्न लागिएको बताए ।
संसद्वादी दलहरुले चुनावदेखि चुनावसम्मको यात्रामा रहेको उनले बताए । चुनावदेखि चुनावसम्मको गतिविधिले मुलुकलाई थप जटिलतातिर लागे उनले बताए ।