Logo

भीम रावल एमाले रहेनन्, ओलीले बर्साए दण्डा



काठमाडौं, १० पुस । नेकपा (एमाले) ले पूर्व पार्टी उपाध्यक्ष भीम रावलको संगठित सदस्यता खोसेको छ । आज (बुधबार) बसेको पार्टी सचिवालय बैठकले उनको सदस्यता खोस्ने निर्णय गरेको हो । पार्टीको हितविपरीत अभिव्यक्ति दिँदै हिँडेको र तोकिएको जिम्मेवारी पूरा नगरेको कारण उनको सदस्यता खोसिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

‘कमरेड भीम रावल उहाँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार हुनुभयो । उपाध्यक्षको निम्ति आग्रह गरिएको कुरालाई उहाँले मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो । त्यो सल्लाहकारको जिम्मेवारी पनि उहाँले पूरा गर्नुभएन र अभिव्यक्तिहरु निरन्तर पार्टीलाई बलियो बनाउने भन्दापनि कमजोर बनाउने हिसाबले निरन्तर आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय भएको छ,’– उनले भने ।

त्यस्तै बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई छ महिना पार्टीको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । उनीहरुले पार्टी कार्यालय निर्माणका सन्दर्भमा अस्वभाविक अभिव्यक्ति दिएको र सो अभिव्यक्तिका सन्दर्भमा सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको उपमहासचिव ज्ञवालीले बताए ।

रावलले पार्टीको १०औं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्र्धा गरेका थिए । ओलीसँग पराजय व्यहोरेका रावलले त्यही समयदेखि वहिष्करणमा पर्दै आएका थिए । अन्ततः उनलाई एमालेले निष्काशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्