काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफू र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलाई एकताविरोधी नेताको रुपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) माओ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय विप्लव र आफूबीचको सम्बन्धमा कालो बादल लगाउने प्रयत्न गरिएको बताएका हुन् ।
आफूहरुमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको बताउँदै उनले अहिले पनि एकताको पक्षमा बहस र छलफल भइरहेको बताए । ‘अहिलेपनि माओवादी आन्दोलन, कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउने, कसरी एकतावद्ध गर्ने ? समाजवादी क्रान्तिको कार्यदिशा कसरी निर्माण गर्ने ? समाजवादको बाटोमा अगाडि बढ्न सही विचारको खाका कसरी कोर्ने भन्ने सन्दर्भमा हाम्रो बहस भइरहेका छन्,’– उनले भने ।
आफूले कपिलवस्तुमा पुगेर विप्लवलाई भेटेकोसमेत स्मरण गराए । उनले कम्युनिष्ट आन्दोलन पुनर्गठनको आवश्यकता औंल्याए ।