Logo

अस्वभाविक शुल्क बृद्धिको विरोधमा ल क्याम्पसमा तालाबन्दी



काठमाडौं, ११ पुस । स्वतन्त्र विद्यार्थी युनियनसहित क्याम्पसमा आवद्ध विद्यार्थी संगठनहरुले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् । नयाँ शैक्षिक शत्रबाट लागू हुनेगरी क्याम्पसले बीए.एलएलबीको भर्ना शुल्क बढाएको विरोधमा स्ववियू, नेविसंघ, अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

नेपाल ल क्याम्पस, क्याम्पस प्रशासनले ८०८१ को बीए.एलएलबी भर्नाबाट शुल्क बृद्धि गरी ५ लाख, २३ हजार, ६ सय ५० रुपैयाँ तोकेको थियो । शैक्षिक सत्र २०८० सम्म ३ लाख ७६ हजार ६ सय १० रहेको शुल्क अस्वभाविक रुपमा शुल्क बृद्धि गरिएको भन्दै विद्यार्थी संगठनहरुले विरोधस्वरुप तालाबन्दी गरेका हुन् ।

विना कारण दुषित मनसाय राखी गरिएको शुल्क वृद्दि अवैज्ञानिक र अव्यवहारिक रहेको विद्यार्थी संगठनहरुले बताएका छन् । क्याम्पसले १० प्रतिशत छात्रवृत्तिको समेत सुनिश्चितता नगरेको उनीहरुको आरोप छ ।

उनीहरुले शैक्षिक सत्र २०८० सालसम्म कायम गरिएको शैक्षिक शुल्कमै नियमित भर्ना प्रक्रिया सुचारु गर्नुपर्ने र सोहि बमोजिमको भर्ना सम्बन्धी सूचना प्रकाशित नगरुन्जेलसम्म सम्पुर्ण भर्ना प्रक्रिया रोक्नुपर्ने, त्रि.वि.छात्रवृत्ति र पुरस्कार तथा पदक सम्बन्धी कार्य निर्देशिका २०७१ बमोजिम छात्रवृत्तिको सुनिश्चितता गर्ने गरि स्पष्ट सूचना जारी गर्नुपर्ने माग अगाडि सारेका छन् । माग पुरा नहुँदासम्म तालाबन्दी जारी रहने बताइएको छ ।

त्रिवि कानुन संकाय डिन कार्यालयले सम्बन्धित क्याम्पसको आवश्यकताअनुसार शुल्क निर्धारण गर्न भन्दै खुल्ला छाडिदिएपछि नेपाल ल क्याम्पसले नयाँ शैक्षिक शत्रमा भर्ना हुने विद्यार्थीहरुको लागि एकैपटक १ लाख ४७ हजार ४० रुपैयाँ शुल्क बृद्धि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्