काठमाडौं । लामो समयदेखि भागबन्डा नमिलेर जेष्ठ सदस्यको भरमा चलिरहेको सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिले अब सभापति पाउने भएका छन् । बिहीबार सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिमा भागबन्डा भएसँगै गाँठो फुकेको हो ।
मुख्यमन्त्री कमलबहादुर शाह र एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच बिहीबार भएको छलफलमा समितिको सभापतिमा भागबन्डा मिलेको हो । दुई दलका प्रमुख नेताबीच भएको सहमतिअनुसार प्रदेश सभामा चार वटा विषयगत समिति रहेकोमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले एउटा-एउटा समितिको सभापति लिनेछन् ।
सहमति अनुसार प्रदेशको अर्थ बिकास तथा प्राकृतिक स्रोत बिकासको सभापती नागरीक उन्मुक्ती पार्टी (नाउपा) ले पाउनेछ । त्यस्तै सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले पाउँदा एमालेले सामाजिक विकास समिति तथा नेपाली कांग्रेसले बिशेष समितीको सभापती पाउनेछ ।
त्यस्तै दुई दलबीच भएको सहमति अनुसार बिषयगत समितिहरुको कामको भारलाई ध्यानमा राखी आवश्यकता र औचित्यको पुष्टी भएमा अर्थ बिकास तथा प्रकृतिक स्रोत बिकास समिति बिभाजन गर्ने प्रकृया अगाडी बढाईनेछ । दुई समिति विभाजन गरेर बनाइने समितिको नेतृत्व कांग्रेसले पाउनेछ ।