Logo

मोहन बस्नेत भ्रष्टाचारमा डामिएपछि नागार्जुनको नेतृत्व एमालेको हातमा, कार्यवाहक बनिन् सुशीला



काठमाडौं । दुई पटक लगातार चुनाव जितेका नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि उपमेयर सुशीला अधिकारी कार्यवाहक मेयर बनेकी छन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर बस्नेतमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचारमा मेयर डामिएसँगै स्वत निलम्बनमा परेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित मेयर भ्रष्टाचारमा मपरेपछि नागार्जुनको नेतृत्व एमालेको हातमा गएको छ । कार्यवाहक मेयर बनेकी उपप्रमुख अधिकारी नेकपा एमालेबाट निर्वाचित हुन् ।

१० वडा रहेको नगरपालिकामा गत निर्वाचनमा नेपाली कांग्रेसले मेयरसहित ५ वडाअध्यक्ष जित्दा एमालेले उपमेयरसहति ४ वडाध्यक्ष र राप्रपाले १ वडाध्यक्ष जितेको थियो । कांग्रेसले वडाध्यक्ष जितेका केही वडामा सदस्य भने एमालेबाट निर्वाचित छन् ।

आयोगले आइतबार बस्नेत, उनकी श्रीमती उर्मिला र पद्मा कोलोनी प्रा.लि. र उक्त कम्पनीका सञ्चालक तथा अध्यक्ष राजुप्रसाद कंडेलविरुद्ध दुईवटा कसुरमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रमुख बस्नेतले पदको दुरुपयोग गरी जग्गाको अवैध कारोबारमा सघाएर बैक खाता मार्फत दुई करोड १५ लाख ७३ हजार नगद लिएको पुष्टि हुन आएको दाबी गरे।

त्यस्तै उनले ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा र प्रतिवादी कंडेललाई शंकर होटलमा विवाह भोजको २४ लाख ७२ हजार भुक्तान गर्न लगाएर जम्मा ९ करोड २२ लाख ४६ हजार घुस लिएको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ।

आयोग भ्रष्टाचार गरी आर्जन गरेको रकममा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी समेत कसूर समेत थप गरी सजाय माग दाबी लिएको छ। बस्नेतलाई सम्पत्ति शुद्धिकरणतर्फ १३ करोड १२ लाख ७३ हजार बिगो कायम गरी सम्पत्ति शुद्धिकरण मुद्दा दायर गरेको छ। 



प्रतिक्रिया दिनुहोस्