Logo

सभामुख घिमिरेले राजनीतिक प्रतिशोधलाई सघाउनुभयो, सरकारको चरणमा ‘त्वम् शरणम्’ गर्नुभयोः रास्वपा नेता पराजुली



काठमाडौं, १५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले सभामुख देवराज घिमिरेले सरकारको राजनीतिक प्रतिशोधलाई सघाएको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभामुख घिमिरेले संविधान र कानुनलाई लत्याउँदै सरकारले साँधेको राजनीतिक प्रतिशोधलाई सघाउ पुग्नेगरी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको बताएका हुन् ।

‘सभामुखज्यूले सरकारको छायाँमा परेर, सरकारको चरणमा ‘त्वम् शरणम्’ गरेर, सरकारले साँधेको राजनीतिक प्रतिशोधलाई सघाउनेगरी देश र जनतालाई लत्याउँदै, सदनको कानुनलाई लत्याउँदै आफैं कानुनविपरीत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूको सांसद पद निलम्बन गरिएको सूचना जारी गर्नुभयो,’– उनले भने ।

रवि लामिछानेको सांसद पद निलम्बन गर्ने निर्णय अवैधानिक रहेको उनको दाबी छ । सांसद पद निलम्बनमा राख्ने सभामुख घिमिरेको निर्णय प्रतिनिधि सभा नियमावली २०७९ को दफा २४८ को उपदफा ३ विपरीत रहेको उनले बताए ।

नियमावलीअनुसार मुद्दाको सुनुवाइको क्रममा लामिछाने पुर्पक्षका लागि थुनामा गएको अवस्थामा मात्रै उनलाई निलम्बन गर्न सकिने नेता पराजुलीले बताए । सभामुख घिमिरेले नेपालको इतिहासमा बदनाम सभामुखको छवि बनाएको उनको आरोप छ । उनले भने, ‘पुर्पक्षको लागि थुनामा रहनुपर्छ भन्ने आदेश जारी भएपछि मात्रै काननुतः उहाँको पद निलम्बन गर्न सकिने अवस्था हो । त्यस कारण नेपालको राजनीतिक इतिहासमा त्यस्तो नाम, विशेषगरी सभामुखको नाम अब बदनामी सभामुखको नाम लिँदैगर्दा यतिखेरका सभामुखको नाम लिइन्छ र नेपाली राजनीतिक इतिहासमा यो कालो दिन हो । सभामुखले गरेको, सांसदको गरिमा गिराउने गरी, सांसदको गरिमालाई कार्यपालिका समक्ष ‘तुम् शरणम्’ हुनेगरी इतिहासले हेर्दा यो निकै कालो दिनमा गनिने छ । सभामुखले यसको मूल्य चुकाउनुपर्ने छ ।’



प्रतिक्रिया दिनुहोस्