काठमाडौं । डडेल्धुराका दुई प्रभावशाली नेता पूर्वसांसद कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद् डा तारा जोशीले एमालेबाट निष्कासितमा परेका पूर्वउपाध्यक्ष डा भीम रावलसँग भेटवार्ता गरेका छन्।
सुदूरपश्चि प्रदेशमा राम्रो पकड भएका भनिएका मल्ल र जोशीले सोमबार नेता रावललाई भेट्न रावल निवास टोखा पुगेका थिए।
भेटवार्ताको क्रममा दुई दशकसम्म काँग्रेस सभापति शेरबहादुर देउवाको चुनावी कमाण्डर बनिसकेका मल्ल र एमाले हुँदै ‘स्वतन्त्र सांसद्’ बनेका जोशीले रावलको भावी राजनैतिक कदमबारे चासो राखेको बताईएको छ ।
रावल भेट्न पुगेका मल्ल र जोशी दुवैले आगामी यात्रामा साथ दिनसक्ने संकेत गरेको स्रोतले जनाएको छ । ‘कर्ण दाइ र तारा दाइ डडेल्धुराको कामकाजी नेता हुनुहुन्छ। उहाँहरूले रावल कमरेडलाई समर्थन जनाइरहनु भएको छ। हामीहरू निकै खुसी छौँ,’ रावलनिकट स्रोतले भन्यो ।
एमालेमा लामो समयदेखि प्रतिपक्षी नेताको रुपमा गतिविधि गर्दै आइरहेका रावल गत साता एमालेबाट निस्कासित भएका थिए । रावलले आगामी ‘राजनीतिक यात्रा’बारे नेता–कार्यकर्तासँग परामर्श गरिरहेका छन्।