काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा मान्छे ओर्सानका लागि पेट्रोल बाँडिएको विषयले सामाजिक सञ्जाल गर्माएको छ । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिका पुगेका थिए । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पर्सा पुगेका ओली सरकारी हेलिकोप्टर चढेर पुगेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा ठूलो सहभागीता देखाउन गाउँगाउँमा तेलको कुपन बाँडिएको थियो । प्रत्येक मोटरसाइकललाई २ लिटर पेट्रोल उपलब्ध गराईएको थियो । गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालाई पार्टीमा भित्र्याउन गएका ओलीले त्यसदिन करिव ५ हजार जनालाई पार्टी प्रवेश गराउने बताईएको थियो । यद्यपि सार्वजनिक तस्बिर र भिडियोमा भने खासै धेरै मान्छे देखिएका थिएनन् ।
ओली सहभागी हुने कार्यक्रममा जान तेल बाँडिएको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ । सामाजिक संजालमा फैलिरहेको भिडियो र तस्बिरमा विन्दवासिनी गाउँपालिका–२ स्थित बहुअर्वा चोकमा रहेको एक पेट्रोल पम्पमा पेट्रोल हाल्नेको भीडभाड देखिन्छ । उक्त तस्बिर र भिडियो सेयर गर्दै धेरै जनाले आलोचना गरेका छन् ।
पछिल्लो समय नेपालको निर्वाचन प्रणाली खर्चिलो बनेको भन्दै प्रश्न उठिरहेको छ । संघीय चुनावमा मात्र नभएर स्थानीय तहकै चुनावमा पनि करोडौं खर्चिनुपर्ने, कार्यकर्तालाई भनेजति रकम दिनुपर्ने, गाउँगाउँमा मासुभात र मदिरा वितरण गर्नुपर्ने, नारा जुलुसमा सहभागी हुनेलाई तेला हालिदिनुपर्ने लगायतका विकृति दिनप्रतिदिन बढ्दै गएको छ । निर्वाचन प्रणाली र चुनावी खर्चबारे प्रसस्तै प्रश्न उठिरहँदा प्रधानमन्त्री स्वयंको कार्यक्रममा मान्छे धेरै देखाउन पेट्रोल बाडिएपछि प्रश्नमाथि प्रश्न थपिएको छ ।
गत बुधबारमात्रै पार्टीका पूर्व उपाध्यक्ष डा भीम रावलको संगठित सदस्यता खोसेका ओलीलेस्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिनासम्म निलम्बन गरेका थिए । पार्टीमा ३०औं वर्षदेखि संघर्ष गरेका नेताहरुलाई कत्लेआम गरेका ओलीलगत्तै सरकारी हेलिकोप्टर चढेर पालीकाका पूर्व अध्यक्षलाई पार्टीमा भित्र्याउन पुगेपछि थप आलोचित बनेका छन् ।
एकातिर वर्षैादेखि पार्टीमा दुख गरेका नेताहरुलाई गलहत्याउने र अर्कोतिर पार्टीमा नेता भित्र्याउन जाँदा कार्यकर्तालाई तेल बाँड्ने कार्यले ओली आलोचनासँगै बदनामसमेत भएका छन् ।