काठमाडौं, २४ पुस । पूर्वउपप्रधान एवं गृहमन्त्री भीम रावलले आफू अब एमाले, माओवादी, कांग्रेस वा एकीकृत समाजवादी कुनैपनि दलमा प्रवेश नगर्ने र सहकार्य नगर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बरु काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले दल खोलेको खण्डमा उनलाई साथ दिन आफू तयार रहेको बताए ।
‘बालेन शाहजीले म कुनै दल खोल्छु, मेरो यस्तो नीति हो भनेर ल्याउनु भएको छैन । नल्याएको कुरामा अहिले कल्पना गरेर यस्तो हुन्छ, उस्तो हुन्छ भन्ने कुरा सुहाउँदैन । यदि त्यो बाटोमा जान्छु भनेर उहाँ आउनुभयो भने उहाँजस्तो युवालाई म साथ दिन जहिलेपनि तयार हुन्छु नि । उहाँले यदि पार्टी खोल्नुभयो र त्यो पार्टीले नेपालको सर्बोपरी हितलाई केन्द्रमा राखेर अहिले नेपालका जुन समस्याहरु छन्, त्यसलाई समाधान गर्छौं भनेर उहाँले भन्नुभयो भने उहाँसँग सहकार्य नहुनुपर्ने के कुरा छ र ? तर, त्यो काल्पनिक कुरा हुन्,’– उनले भने ।
साथै, उनले आफू पार्टी खोल्नका लागि अहिले हतारमा नरहेको बताए । उनले भने, ‘म त्यस्तो हतारमा छैन । मैले मातृभूमि जागरण अभियानको माध्यमबाट जनताको बीचमा जाने, कार्यकर्ताको बीचमा जाने आम बुद्धिजीविहरुको बीचमा जाने, उहाँहरुको सुझाव सुन्ने, देशलाई के आवस्यकता छ, अझै सामूहिक बल बुद्धिबाट संकलन गर्ने त्यसपछि वैकल्पिक शक्ति निर्माण आवस्यक भयो भने त्योपनि गर्ने । आवस्यक भयो भने किन नगर्ने त ?’
साथै, दुर्गा प्रसाईँले भ्रष्टाचारको विरोध र देशको हितमा काम गरेको खण्डमा उनीसँग पनि सहकार्य हुने नेता रावलले भने । देशको अर्थतन्त्र, राजनीति, सुरक्षा, वैदेशिक सम्बन्ध सबैमा देशको हित सर्वोपरी राख्नेहरुसँग आफ्नो सहकार्य हुने रावलको भनाइ छ ।