काठमाडौं, २४ पुस । उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला धरौटीमा रिहा भएकी छ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला आज आफैं अदालतमा हाजिर भएकी थिईन् ।
उनलाई जिल्ला सरकारी वकिलको कार्यालय मोरङले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
मोरङको धनपालथान–४ मा रहेको उक्त सहकारीको सञ्चालक रहँदा अञ्जलाले बचतकर्ताको बचत रकम अपचलन गरेको आरोप लागेको थियो । सो सहकारी ठगीमा अञ्जलासहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको थियो ।