काठमाडौं, २६ पुस । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत र उनकी श्रीमती सोनी सिन्धु रानीबीच सम्बन्धविच्छेद मुद्दा विचाराधीन छ । ललितपुर जिल्ला अदालतमा डा.राउतले सम्बन्धविच्छेदका लागि फिराद दायर गरेका थिए । सम्बन्धविच्छेदका लागि फिराद दायर गरेसँगै डा.राउतमाथि विभिन्न आलोचना र टिकाटिप्पणी भइरहेको छ ।
तर, डा.राउत भने आफूहरु बीचको यथार्थ नबुझी मिडियाहरुले एकपक्षीय ढंगले आफ्नो बदनाम गराएको बताउँछन् । राजनीतिक रुपमा धेरै पटक पक्राउ परेपनि आफूलाई बदनाम गराउन नसकिएपछि पारिवारिक मामलामा खेल्न खोजेको उनको आरोप छ । आफ्नै पार्टीका केही मान्छे र जनता समाजवादी पार्टी नेपालका केही नेताहरुको प्रभावमा परेर आफूमाथि सोनीले विभिन्न किसिमका आरोप लगाएको उनले बताए ।
उनले आफ्नी श्रीमतीको उपचारसमेत गराउन नपाएकोमा ग्लानी रहेको बताए । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले यसरी सुनाए विवादको फेहरिस्तः
हाम्रो मागी विवाह भएको हो । सन् २००७ तिर भएको हो । मेरो घरपरिवारबाट कसैको पनि विवाह भारततिर भएको थिएन । त्यतिबला हजुरबुबाको प्रवल इच्छा मेरो विवाह भइदिओस् भन्ने थियो । यो हतारमा भएको थियो, मन्दिरमा विवाह भयो । उसको पृष्ठभूमि मलाई थाहा थिएन । विवाह अगाडि नै मेरो श्रीमतीको मानसिक अवस्था असामान्य रहेछ । उहाँले विवाह अगाडि नै दुई पटक आत्महत्याको प्रयास गर्नुभएको रहेछ । विवाहपछि उहाँको बुवाले मलाई उहाँको स्वास्थ्यबारे रुँदै जानकारी गराउनु भयो ।
विवाहको दुई÷तीन दिनपछि उहाँले डायरी लेख्नुभएको थियो । यो विवाह म मान्दिन, म मेरो आमाको नजिकै बस्न चाहन्थेँ लगायतका कुरा लेख्नु भएको थियो । मैले उहाँलाई परिवारको सल्लाहअनुसार बेलायत पनि संगै लिएर गएँ । मैले सकेसम्म बेस्ट गर्दै राखेँ । अब ठीक होला भन्थेँ, बच्चा पनि भयो । तर, ठीक हुने अवस्था देखिएन । उहाँको मानसिक अवस्था गम्भीर भएपनि माइती गएर उहाँ उपचार हुन थाल्यो । पछि त्यसको पारस हस्पिटलमा पनि इलाज चल्यो । पछि काठमाडौंको टिचिङ हस्पिटलमा पनि उपचार भयो । उहाँलाई औषधिले केही हदसम्म सहज भएको थियो । १२ वर्षदेखि यही समस्या थियो । गत वैशाखदेखि उहाँले औषधि खान्न भनेर छोड्दिनुभएछ । कसैले सम्झाउन बुझाउन लगाउँदा पनि नखाने भएपछि अहिलेको अवस्था आयो ।
दर्भाग्यले म अहिले कति निरिह भएको छु । घरमा काम गर्ने दुई जना राखिदिएको छु । म त बाहिर बस्छु अहिले । बीचबीचमा स्टोक आउन थालेको छ । काम गर्ने मान्छेले मलाई भनिरहेको हुन्छ सर यस्तो–यस्तो हुन्छ । के गर्ने भनेर । म कति निरिह अवस्थामा मलाई यो समाजले पुर्यायो भने आफ्नै श्रीमतीलाई त्यस्तो विरामी अवस्थामा पाएर पनि म केही गर्न असमर्थ छु । किनकी त्यहाँ गयो भने मिडियाले भन्छ घरेलु हिंसा गर्यो । मैले पुलिसलाई उजुरी दिएको छु । तपाईँ इमाडोलको प्रहरी चौकीमा गएर मैले भदौ २५ गते दिएको निवेदन हेर्नुुस्, त्यसमा मैले प्रहरीलाई अनुरोध गरेको छु । मेरो श्रीमतीको मानसिक अवस्था यति खतरा भयो कि मेरो बालबच्चाको ज्यानको खतरा छ । किन ? कहिले पेट्रोल मगाउँछ, कहिले म त छतबाट हाम फाल्छु भन्छ । यस्तो अवस्थामा औषधि खाँदैन । म उपचार पनि गराउन सक्दिनँ । समाएर लग्यो भने घरेलु हिंसा गर्यो भन्छ । मैले मेरो श्रीमतीको उपचारको व्यवस्था मिलाइदिनुस्, पैसा जति लाग्छ म व्यहोर्छु भनेको थिए । राज्य यहीँ मौकामा सिके राउतलाई फसाउन चाहन्छ । त्यो उजुरीमाथि सुनुवाइ गर्दिएन ।
मैले गृहमन्त्रीलाई पनि अवगत गराएँ । उपचार गराइदिनु, मैले औषधि खान पनि भनेको छैन । डाक्टरले के भन्छ त्यो गरौं न भन्दापनि त्यो नगरेर राज्य मलाइ फसाउन लाग्यो । मलाई आफैंलाई पनि ग्लानी िछ कि आज मैले केयर गर्न पाइरहेको छैन । म आज निरिह छु। त्यहाँ जानेवित्तिकै प्रहरीलाई बोलाइदिन्छ, मिडियामा आउँछ ।
म म्याडमलाई कुनैपनि दोष दिन्न । किनकी मलाई उहाँको मानसिक अवस्था थाहा छ । उहाँलाई मान्छेले म्यानुपुलेट गरेको छ । उनले माइती पक्षको पनि एक जनाको पनि कुरा सुन्दैन । उनलाई कसैले सही सुझाव दियो भने त्यो मान्छे एकदमै दुस्मन ।