काठमाडौं, २६ पुस । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले पूर्वसचिव भीम उपाध्यायले एमालेको मात्रै विरोध गरेको भन्दै आपत्ति जनाएका छन् । पूर्वसचिव उपाध्यायको एमाले विरोधी हर्कतले सीमा नाघेको उनको टिप्पणी छ । राज्यले दिएको पेन्सन खाएर एमालेको तेजोबध गरिरहेको उल्लेख गर्दै उनले सुविधा रोक्का गर्ने ऐन बनाउन आवस्यक देखिएको बताएका छन् । ‘राज्यले दिएको पेन्सन खाएर एमालेका नेताहरुको तेजोबध गर्ने सिलसिला हेर्दा यस्ताको सुविधा रोक्का गर्ने ऐन बनाउनु पर्ने आवश्यकता देखियो,’– उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
नेता शाहीको अभिव्यक्तिमा पूर्व सचिव उपाध्यायले पनि प्रतिक्रिया जनाएका छन् । पूर्व सचिव उपाध्यायले अहिले एमालेलाई ९९ प्रतिशत जनताले छिछि गरिसकेको दाबी गरेका छन् । नेता शाहीलाई सामाजिक सञ्जालमा एमालेको विरोधमा आएको पोस्ट र कमेन्टबारे पनि याद राख्न सुझाएका छन् । पूर्वसचिव उपाध्यायले पढ्न आउँदैन कि क्या हो ? भन्दै व्यङ्ग्य गरेका छन् ।
नेता शाहीको पोस्टमा कमेन्ट गदै पूर्वसचिव उपाध्यायले भनेका छन्, ‘तिमीहरूलाई दिएको तलब कसले हो ? देश लुट्न दिएको हो तलब ? अझै लाज लाग्दैन ? कति गन्हाउन सकेको ? ९९ प्रतिशत जनताले छिछि गरिसके, सोसल मिडियामा कमेन्ट पढिन्न ? कि पढ्न आउदैन ? हुन त पढ्ने बेलामा तरूनीहरूको पछि लाग्दैमा जुग बित्यो होला। देश चलाउन गिदी चाहिन्छ बाबै, नेताको तेल मालिस गरेर त यस्तै मति बन्छ।’
पूर्व सचिव उपाध्यायको कमेन्टमा नेता शाहीले पुनः प्रतिक्रिया जनाउँदै इमान, निष्ठा र सतचरित्रको बारेमा आफ्नो विरोधीलाई सोध्न भनेका छन् । साथै, आफूले हासिल गरेको डिग्रीको बारेमा त्रिभुवन विश्वविद्यालयलाई सोध्न पनि उनले पूर्वसचिव उपाध्यायलाई सुझाएका छन् । पूर्वसचिव उपाध्यायलाई साँढे गोरूको संज्ञा दिँदै उनले भनेका छन्, ‘हरेक समाजमा सती साधवी पनि हुन्छन्। इमान, निष्ठा र सत्चरित्र प्रतिको मेरो तपबारे मेरा बिरोधीलाई सोध्नू। मेरो डिग्रीबारे त्रिविलाई सोध्नू। आफुलाई मात्र श्रेष्ठ नठान्नू। वहुरत्ना बसुन्धरा अर्थात् पृथ्वी अनेकौं मानव रत्नले हराभरा छ भन्ने सत्यलाई नकुल्चनू। मातृभूमिलाई दण्डनीतिको मेरुदण्डमा उभ्याएर तपाई जस्तो चौराहाको साँढेलाई गोरु चुटाईको उपहार दिन मेरो सिंगो जीवन जनदेवताको उपासनामा लगाइने छ ।’