काठमाडौं, २६ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद् भंग गर्ने सोचेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भनी दिएको अभिव्यक्तिको आलोचना गर्दै अध्यक्ष नेपालले भने, ‘२०८७ सम्म बस्ने उहाँको चाहना होला । हेरौं ०८७ सम्म चुनाव नै नगरी बस्ने हो कि ? त्यसमा पनि मान्छेले प्रश्न खडा गर्छन् । संसदै भंग गर्ने मान्छेले संसद् भंग गरेर ठेलेको ठेल्यै गरेर अर्को छ वर्ष बसौंला भन्ने सोच्नु भएको छ कि थाहा भएन ।’
आज (शुक्रबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपाललेसंविधान संशोधनका बारेमा आफ्नो पार्टीले पनि कार्यदल बनाइसकेको र कार्यदलले छलफल गरिरहेको बताए । उनले संविधानमा स्थानीय निकाय, प्रदेश र केन्द्रीय सरकारसम्मका विषयहरु सच्याउनुपर्ने आवस्यकता रहेको बताए ।
तर, संविधान संशोधनको विषयबाट वर्तमान सरकारका प्रधानमन्त्री ओली पछाडि हट्न खोजेको उनले बताए ।