Logo

विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गरिदिन कतार र इजिप्टसँग आग्रह



काठमाडौँ, २६ पुस । सरकारले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न कतार र इजिप्टसँग पुनः आग्रह गरेको छ ।

सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न पुनःआग्रह गरेको हो । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई रिहा गर्न लागेको समाचार सार्वजनिक भएपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमाससँग मध्यस्थता गरिरहेको कतार र इजिप्ट सरकारलाई जोशीको रिहाइका निम्ति पनि प्रयत्न गर्न आग्रह गरिन् ।

नेपालका लागि इजिप्टका राजदूत नोहा हमदी अहमद एलगेबलीसँग आज मन्त्रालयमा भएको भेटमा परराष्ट्रमन्त्री देउवाले इजिप्ट सरकारसमक्ष नेपालको अनुरोध कार्यान्वयनका निम्ति राजदूतमार्फत आग्रह गरेकी हुन् ।

आजै, परराष्ट्रमन्त्रीले नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग पनि फोन सम्पर्क गरी जोशीको रिहाइका लागि मध्यस्थको भूमिका निर्वाह गर्न आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल कतारमा रहेका राजदूत अन्सारीले नेपालको अनुरोधबारे विदेशमन्त्रीसँग परामर्श गर्ने जानकारी दिए ।

यसअघि पनि परराष्ट्रमन्त्री देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग जोशीको रिहाइका निम्ति आग्रह गरेकी थिईन् । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्