काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोलि (आइतबार) काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन् । उनी काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेको छ । उनी भोलि बयानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ ।
कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनी धरौटीमा रिहा भएका थिए । धरौटीमा रिहा भएका लामिछाने हिजो (शुक्रबार) काठमाडौं आइपुगेका छन् ।
पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख धरौटी राखेर रिहा भएका हुन् । लामिछानेविरुद्ध पर्सा, रुपन्देही र चितवनमा पनि सहकारी ठगी मुद्दा छ ।