काठमाडौं, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष एवं पूर्वमन्त्री ध्रुबबहादुर प्रधानले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन नसक्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्तारुढ दल नेपाली कांग्रेसलाई यसले फाइदा नपुर्याउने भएकाले अध्यादेश नआउने बताएका हुन् । उनले दल विभाजनसम्बन्धी अध्यादेशको विरुद्धमा सिंगो कांग्रेस उभिने विश्वास व्यक्त गरे ।
‘यस किसिमको कार्यले अस्थिरता निम्त्याउन हुँदैन । बहुदलीय प्रजातान्तिक अभ्यासको क्रममा सानो दलले पनि आफ्ना कुराहरु राख्ने कुरालाई कमजोर बनाउने कोशिस गर्न हुँदैन । बरु ठीक छ, एकताको सन्दर्भका कुराहरुमा अगाडि बढ्ने सन्देश दिनु उपयुक्त हुन्छ । मूल कुरा अहिले दल विभाजन अध्यादेश आउँदैन । यसबाट नेपाली कांग्रेसलाई फाइदा हुँदैन । कांग्रेसले अध्यादेश ल्याउन दिँदैन भन्ने कुरामा म विश्वस्त छु । कांग्रेसका माननीय सदस्यहरुले यो अध्यादेशलाई अगाडि बढ्न दिनुहुँदैन भन्ने कुरामा म विश्वस्त छु,’– उनले भने ।
साथै, उनले राप्रपाले अहिले सरकार ढाल्ने प्रयत्न नगरेको र कांग्रेस–एमालेबीच मतभेद नभइ यो सरकार कसैले ढाल्न नसक्ने बताए । उनले आफूहरुले सरकारले गरेका कामकारबाही देशको हितमा छ कि छैन भन्ने कुरा महत्वपूर्ण रुपमा हेरिरहेको बताए । उनले सरकारले गरेका रचनात्मक कामलाई आफूहरुले सहयोग गर्ने बताए ।
‘हामीले सरकार ढाल्न कसरत गर्नुपर्ने अहिले जरुरत किन छैन भनेदेखि अहिले सरकारको प्रतिनिधित्व गर्ने दुई ठूला दलबीच आपसमा गम्भीर मतभेद नहुन्जेलसम्म सरकार ढल्ने सम्भावना रहँदैन,’– उनले भने । File Photo/RN