काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले मधेश प्रदेशलाई नै बन्धक बनाएको टिप्पणी गरेका छन् । मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेदेखि अहिलेसम्म सभा समारोहको उद्घाटन गर्नेबाहेक केही काम नगरेको उनको आरोप छ । नेता सुमनले सिंह नेतृत्वको सरकार जतिसक्दो चाँडो ढल्नु नै मधेशका जनताको लागि हितकर रहेको बताए । उनले मधेश प्रदेश सरकारमा सहभागी दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) देखेर आफूहरुलाई दया लागेर आएको बताए । उनीहरुमा काम केही नगर्ने र संसद्मै मुख्यमन्त्री र प्रदेश सरकारको विरोध गरेर पनि सरकार नछाड्ने प्रवृत्ति देखिएको उनले बताए ।
‘परिवर्तन हुनैपर्छ । पटक्कै काम भएको छैन । मलाई त दया लाग्छ नेपाली कांग्रेसका साथीहरुमाथि । कति निर्लज्जताको पराकाष्ट होला ? संसद्मै उभिएर डा.सिके राउतलाई गाली गर्ने, संसद्मै उभिएर मुख्यमन्त्रीको खेदो खन्ने, तर सरकार नछाड्ने । नेकपा (एमाले) माथि पनि त्यसरी नै दया लागेको छ । उनीहरु पनि त्यसरी नै खेदो खन्ने तर सरकार नछाड्ने । सबैभन्दा बढी दया जनमत पार्टीमाथि लागिरहेको छ । पटक्कै टेर्दैनन् कांग्रेसका मन्त्रीहरुले । भएका योजनाहरु, सार्वजनिक भएको बजेट पनि आज ६÷७ महिनासम्म सुरु नै भएको छैन । केही काम भएको छैन । मुख्यमन्त्रीले केही सार्वजनिक सभा समारोहको उद्घाटन गर्नुबाहेक कुनैपनि काम गर्नुभएको छैन । काम नगर्ने, प्रदेशलाई बन्धक बनाइराख्ने त्यस्तो सरकार परिवर्तन हुनु्नै पर्छ । जति छिटो जाओस् त्यो सरकार, अर्को कोही आयो भने काम त गर्ला । संघीय व्यवस्थामाथि नै आघात हुँदैछ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रवक्ता सुमनले भने ।
कूल १०७ सदस्यीय मधेश प्रदेश सभामा अहिले कांग्रेसको २२, एमालेको २५ (सभामुखसहित), जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, जनता समाजवादी पार्टी, नेपालको १९, नेकपा (माओवादी केन्द्र) को ९, नेकपा (एकीकृत समाजवादी) को ७, नागरिक उन्मुक्ति पार्टीको १, राष्ट्रिय प्रजातन्त्र पार्टीको १ र नेपाल सङ्घीय समाजवादी पार्टीको १ सिट रहेको छ । कांग्रेस, एमाले र जसपा नेपाल मिलेको खण्डमा मधेशमा अर्को सरकार बन्न सहजै बहुमत पुग्छ ।