काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन नहुने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उक्त अध्यादेशले आफूहरुलाई केही असर नगर्ने भएपनि उक्त अध्यादेश ल्याउनु पाप हुने बताएका हुन् ।
‘त्यो अध्यादेशले हामीलाई कुनै असर गर्दैन । तर, त्यो अध्यादेश ल्याउनु पाप हुनेछ । सरकारलाई पाप लाग्ने छ,’– नेता सुमनले भने ।
नेता सुमनले सरकारमा रहेका दलहरु र केपी ओलीले दलीय व्यवस्थालाई कमजोर बनाएर युगान्डाका क्रूर शासक इदी अमिनजस्तै बन्ने विचार राखिरहेको आरोप लगाए । प्रतिनिधि सभा नियमावलीमा अधिवेशनको अवधि ६ महिनाभन्दा बढी हुनेछैन भनेपनि अहिलेसम्मको प्रचलन २÷३ महिनाको ग्यापमा अधिवेशन चलिरहेको उनले बताए । सरकारले लामो समयसम्म संसद् अधिवेशन नबोलाएर चोर बाटोबाट काम गरिरहेको उनको भनाइ छ ।