काठमाडौं, २८ पुस । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २१ सिटलाई सरकारले चाहेको बेला प्रयोग गर्न सकिने बैंक ब्यालेन्स सम्झिएको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा.दीक्षितले सहकारी पीडितको पक्षमा कसैले वास्ता नगरेको र खाली रास्वपाका सभापति रवि लामिछानेलाई बचाउन मात्रै सरकारदेखि सबै राजनीतिक दल केन्द्रीत भएको बताएका हुन् । लामिछानेको दल रास्वपासँग प्रतिनिधि सभामा रहेको २१ सिटलाई सबै दलले म्याजिक सिटको रुपमा लिइरहेको उनको भनाइ छ ।
‘कूल ७६ हजार मान्छे मुलुकभरी सहकारीबाट पीडित छन् । तिनको बारेमा एक शब्द न कुनै नेता वा सरकार बोल्छ । तर, बोल्छन्, रवि लामिछानेको लागि बोल्छन् । मान्छेको जिन्दगीभरको पैसा खत्तम भएको छ । तर,हामी खाली रवि लामिछानेको कुरा गर्छौं । उसलाई अन्याय भएको छ कि छैन । उसलाई दुःख दिएको छ कि छैन ? उसलाई किन यहाँ पुर्याइयो ? मात्रै छ । किन थाहा छ ? संसद्मा २१ सिट । यी सबै लोभी पापीहरु छन्, कुन बेला कोसँग समीकरण चेन्ज गर्नुपर्छ, त्यसबेलामा त्यो २१ सिट म्याजिक भइरहेको छ, त्यतिमात्रै हो । अहिले बार्गेनिङ गरेको छैन । उसले बैंक ब्यालेन्स राखिरहेको छ, कुनैबेला युज गर्न पाइन्छ । परिहाल्यो भने त त्यो २१ सिट महत्वपूर्ण छ,’– उनले भने ।
साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी र नेपाललाई नै हानी पुर्याउने काम गरिरहेको उनको आरोप छ । प्रधानमन्त्री ओलीको संसद् विघाटनदेखि अध्यादेशबाट शासन गर्ने सोच देशको हितमा नरहेको उनको भनाइ छ । डा.दीक्षितले वर्तमान सरकारको विकल्प अहिले नै नभएपनि ओली अलोकतान्त्रिक हुँदै गएको बताए ।
प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेसभित्र जतिसुकै विरोध भएपनि सभापति शेरबहादुर देउवाले यो सरकार ढाल्न नचाहेको उनको दाबी छ । देउवा अहिले ओलीको पाउमा परिरहेको र आगामी सरकारमा नेतृत्व आफूलाई जिम्मा लगाउनेमा ढुक्क रहेको उनले बताए । कांग्रेसमा अब शेरबहादुर देउवाको विकल्प खोजिनुपर्ने उनले बताए । देउवाले कांग्रेस र कांग्रेसको फिलोसफी नै डुबाइसकेको र भाइ कम्युनिष्ट बनाएको डा.दीक्षितको टिप्पणी छ ।